२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुस्ता अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कारण पेश गर्न ताकेता

२०८० कार्तिक २२, बुधबार प्रकाशित (0 महिना अघि) ३२७ पाठक संख्या

 

परासी, २२ कात्तिक । पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिकामा निर्माण हुने भनिएको पन्ध्र शैय्याको अस्पताल निर्माण नगरि अलपत्र पार्ने तीनवटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको छ । सुस्ता गाउँपालिकाले अस्पताल निर्माण नगरि अलपत्र पार्ने तीन वटै निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचल काठमाडौले तीनवटै कम्पनीसँग स्पष्टीकरण माग गरेको हो ।
अस्पताल निर्माणका लागि २०७८ असार ७ गते रु ४ करोड ९ लाख २७ हजार लागतमा समीर,कास्यप र प्राकृति जेभी गरि तीन वटा निर्माण कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी ठेक्का सम्झौता गरेका थिए । तर उनीहरुले कामै नगरी म्याद गुजारेपछि गाउँपालिकाले कालोसूचीमा राख्न सिफारिस गरेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।
खरिद अनुगमन कार्यालयले कार्तिक २२(आज दोस्रो पटक) गते सुचना जारी गर्दै ७ दिन भित्र कालोसूचीमा राख्नु नपर्ने कारण सहित लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।तीन दिन अघि मात्र (कार्तिक १९ गते) ठेकेदार कम्पनीले आफ्नो बचाउमा उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा दायर गरेको रिट अदालतले खारेज गरेको गाउँपालिकाले जनाएको छ ।
सार्बजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ कालोसूचीमा राख्न नपर्ने कारण पेश गर्न तीन वटै कम्पनीलाई ताकेका गरिएको छ । पटक पटक ताकेता गर्दा समेत काम नगरेपछि कालोसूचीका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।
सुस्ता नवलपरासी पश्चिमको विकट क्षेत्र मानिन्छ । यहाँका नागरिकले सामान्य आधारभूत स्वास्थ्य सेवा समेत पाएका छैनन् । यहाँ हालसम्म पनि कुनै अस्पताल छैन । सामान्य स्वास्थ्य चौकीले सबै किसिमका बिरामी हेर्नुपर्ने अवस्था छ । कुनै दुर्घटना भईहाले ज्यान नै जोखिममा राखेर अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।
सुस्ताको गौरबको आयोजना मानिएको अस्पतालको यो अवस्था हुनु समग्र सुस्तावासीको स्वास्थ्यमा गरिएको खेलबाड भएको स्थानीयको गुनासो छ । ठेकेदार कम्पनीले मुद्दा हालेपछि गाउँपालिकाले ठेकेदार कम्पनीको धरौटी जफत गरेको थियो ।
गाउँपालिकाले अस्पताल निर्माणका लागि एक गुठीसग ४० बर्षका लागि भोग चलन गर्न पाउने गरी जग्गा सम्झौता गरेपनि पालिकाले आफ्नो नाममा भएको जग्गा उपलब्ध गराउन नसकेकाले पछि भुक्तानीमा समस्या हुने हुदाँ काम नगरिएको ठेकेदार कम्पनीको दावी छ । “पालिकाकै नामको जग्गाको पुर्जा नभएकाले हामीले काम गर्न सकेनौँ, उहाँहरुसग पनि जवाफ माग्नुस“प्रकृति निर्माण सेवाका सञ्चालक टोपबहादुर रायमाझीले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस