२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बाबा बर्दगोरिया धाम क्षेत्रमा भेटियो प्राचीन शिखर शैलीका मन्दिरको भग्नावशेष

२०८० जेष्ठ ३२, बिहिबार प्रकाशित ( साल अघि) १८१७ पाठक संख्या

मोहन पौडेल
परासी, ३२ जेठ । पश्चिम नवलपरासीको पुरातात्विक धार्मिक क्षेत्र बाबा बर्दथोरिया धाम क्षेत्रमा प्राचीन शिखर शैलीका मन्दिरको भग्नावशेस भेटिएको छ । सुनवल नगरपालिका–११ केरवानीमा अवस्थित बर्दगोरिया धाम क्षेत्रमा पुरातत्व विभागले गरेको उत्खनन्को क्रममा व्यापक फैलिएको अवस्थामा भग्नावशेषहरु फेला परेको हो ।
करिब दुई हप्ता लगाएर यस क्षेत्रमा पहिलो पटक गरिएको उत्खनन्को क्रममा शिखर शैलीका मन्दिरको भग्नावशेषहरु भेटिएको उत्खनन् टोलीका संयोजक एवं पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । “शिखर शैलीका मन्दिरमा प्रयोग हुने गजुर, पिलर लगायत यस क्षेत्रमा व्यापक रुपमा फैलिएको अवस्थामा शिखर शैलीका मन्दिरका संरचनाहरु भ्ेोटियो, ६ मिटरसम्म उत्खनन् गर्दै जाँदा पनि संरचनाहरु फैलिँदै गएको देखिएको छ, यसको एकिन क्षेत्र छुट्याएर बृहत उत्खनन् गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।
उत्खनन्को क्रममा धाममा रहेको गणेश मन्दिर नजिकै गज लक्ष्मी देविको मूर्ति तथा शिखर शैलीका मन्दिरको भग्नावशेष भेटिएको छ भने धाम नजिकै रहेको खोला किनारको भिरालो जमिनमा समेत प्राचीन भग्नावशेष तथा ईनार भेटिएको ज्ञवालीले बताउनुभयो । उक्त क्षेत्रमा व्यापक रुपमा पुरातात्विक अवशेषहरु भेटिएकोले जियो फिजिक्स(भू–भौतिक) सर्वे गर्नुपर्ने देखिएको बताउँदै पुरातत्वविद ज्ञवालीले आगामी वर्षमा पुरातत्व विभागले त्यसको लागि पहल गर्ने जानकारी दिनुभयो ।
प्राप्त भग्नावशेषहरु १५÷१६ शताब्दी सेनवंशीय कालका हुन सक्ने प्रारम्भीक अनुमान उत्खनन् टोलीले गरेको छ । यद्यपी यही क्षेत्रमा वि.स.२०५२ सालमा प्राप्त ताम्रपत्रमा “वि.स.१२१२ माघमा विजयपुरमा शिवधाम निर्माण गरिएको” भनी अभिलेख रहेकोले यसको थप अनुसन्धानपछि मात्र यहाँका संरचना कति पुराना हुन् भन्ने एकिन हुने ज्ञवालीले बताउनुभयो ।
उत्खनन्को क्रममा भेटिएका भग्नावशेषहरु उत्खनन् टोलीले धाम विकास समितिलाई नै संरक्षणको जिम्मा दिएको छ । बाबा बर्दगोरिया क्षेत्र प्राचीन पुरातात्विक स्थलको रुपमा सूचीकृत भईसकेकोले यहाँको थप अध्ययन, अनुसन्धान तथा उत्खनन् गर्नुपर्ने रायसहितको प्रतिवेदन बुझाईने ज्ञवालीले बताउनुभयो ।
यस क्षेत्रमा भूमही नदीले कटान गर्दा तथा भौतिक संरचना बनाउने क्रममा जमिन खन्दा विभिन्न समयमा देखा परेका मूर्ति, चक्र, पर्खालमा प्रयोग भएका ढुंगा, माटाका भाँडाकुँडा लगायतका प्राचीन अवशेषहरु यत्रतत्र रहेकोले यसको प्राचीन महत्व उजागर गर्न र प्राचीन वस्तुहरु संरक्षण गर्न समितिले पुरातत्व विभागलाई उत्खनन्को लागि पहल गरेको बाबा बर्दगोरिया धाम विकास समितिका अध्यक्ष नरपति पाण्डेले जानकारी दिनुभयो ।
यस धाममा हरितालिका तीजको दिन यस क्षेत्रकै ठूलो मेला लाग्ने गर्दछ भने साउन महिना तथा शिवरात्रीमा पनि भक्तजनको विशेष घुँईचो लाग्ने गर्दछ । यस धामलाई जिल्लाकै नमूना धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न अहिले स्थानीय तथा प्रदेश सरकारको पहलमा विभिन्न पर्यटकीय संरचनाहरु निर्माण भएको समितिले जनाएको छ । यस धामको महत्व र विश्वास हालसम्म किम्बदन्तीको आधारमा रहेकोमा अव यसको खास महत्व र प्राचीन पुष्टिको लागि थप अध्ययन, अनुसन्धान, अन्वेषण तथा उत्खनन्को लागि पहल गर्नुपर्ने आवश्यकता रहेको समितिका सचिव लेखनाथ ढकालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%२%

प्रतिक्रिया दिनुहोस