सम्झना बिक
काठमाडौ,१ जेठ । पश्चिम नवलपरासी, बर्दघाट नगरपालिका–१४ गंगाबस्तीका टिमबहादुर रुचाललाई अचेल राम्रोसँग निद्रा पर्दैन। परोस् पनि कसरी? आपतमा लिएको ऋणले एकातिर भएको जग्गा गुमेको छ, अर्कोतिर परिवारमा विग्रह आएको छ। जग्गा फिर्ता पाउन अरु कुनै उपाय नदेखेपछि उनी मिटरब्याज पीडितसँग मिलेर आन्दोलनमा उत्रेका छन्। आफ्नै विश्वासले धोका पाएका रुचालको बर्बादीको कथा २०७० सालबाट शुरू हुन्छ।
रुचालका अनुसार, घरखर्च चलाउन गाह्रो परेपछि उनले बर्दघाट नगरपालिका–४ का जितबहादुर श्रेष्ठसँग ३६ प्रतिशत (मासिक सयकडा तीन) ब्याजदरमा ६ लाख रुपैयाँ ऋण लिए। जितबहादुरले शर्त राखे अनुसार ऋणका लागि रुचालले आफ्ना पिता यमबहादुर रुचालको नाममा रहेको जग्गा उनको नाममा रजिस्ट्रेसन पास गरिदिए।
ऋण र ब्याज बुझाएका दिन जितबहादुरले फिर्ता गरिदिने शर्तमा रुचालले दाउन्नेदेवी गाविस–४ मा रहेको कित्ता नं. ८५ को एक बिगाहा सात कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालयमै गएर पास गरिदिएको उनी बताउँछन्। उनी भन्छन्, “पैसाको खाँचो थियो, जग्गा धितो राखेर पैसा चलाएको थिएँ, सँगै मालपोतमा गएर राजीनामा पनि गरेँ।” त्यसरी जग्गा लिएर ६ लाख रुपैयाँ दिएको सत्य भएको श्रेष्ठ स्विकार्छन्। “जहिले पैसा दिनुहुन्छ तहिले जग्गा फिर्ता गरिदिन्छु भनेको थिएँ”, उनी भन्छन्।
ऋण लिएको एक वर्षपछि २०७१ सालमा रुपन्देहीका शिवकुमार धोबी धवल रुचालकहाँ आइपुगे। रुचालको घर र धवलको ससुराली एउटै वडामा पर्ने भएकाले उनीहरूबीच चिनजान थियो। श्रेष्ठसँग ऋण लिएकोबारे जानकार धवलले जितबहादुरसँग लिएको ऋणको साँवा–ब्याज तिरिदिने र त्यस बापत उनको जग्गा पाँच वर्षका लागि भाडामा दिने प्रस्ताव गरेको रुचाल बताउँछन्। “साँवा र ब्याज तिरिदिने भनेपछि कुनै आनाकानी नगरी मैले हुन्छ भनेँ”, रुचाल भन्छन्। धवल अहिले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष छन्।
धवलले तत्कालै परासीका केशवराज तेलीसँग पैसा लिएर श्रेष्ठलाई साँवा ६ लाख र एक वर्षको ब्याज गरी आठ लाख रुपैयाँ तिरिदिए। त्यस बापत रुचालकै स्वीकृतिमा श्रेष्ठले तेलीको नाममा जग्गा पास गरिदिए । त्यसै वर्ष धवलले तेलीलाई आठ लाख रुपैयाँ दिएर आफ्नो नाममा जग्गा पास गराए। रुचालको जग्गाकै साँधमा रहेको आफ्ना ससुरा डम्बरा थारुको उति नै क्षेत्रफलको जग्गा समेत लिएर इँटा उद्योग स्थापना गरे– श्रृष्टि इँटा उद्योग। उद्योग घाटामा गएको भन्दै धवलले केही वर्षमै रुपन्देहीको देवदह खैरेनीका पदम ढुंगानालाई बेचे। आफूले रु.एक करोड ५० लाखमा इँटा उद्योग र उद्योग रहेको दुई कित्ता जग्गा किनेको ढुंगाना बताउँछन्।
यसरी ६ लाख रुपैयाँ ऋणका लागि रजिस्ट्रेशन पास गरिदिएको रुचालको जग्गा चौथो व्यक्तिको नाममा पुग्यो। उति नै क्षेत्रफलको जग्गासहित संयुक्त एक करोड ५० लाखमा ढुंगानाले किनेको हिसाबले रुचालको जग्गाको मात्रै रु.७५ लाख परेको देखिन्छ। जग्गाको कारोबार गर्ने ढुंगाना दुवै जग्गा आफूले किनेपछि रुपन्देहीका राजेश क्षेत्री र सितेश श्रेष्ठलाई संयुक्त रूपमा १३ लाख नाफा खाएर बेचेको बताउँछन्। “शिवकुमार धवलसँग किनेको जग्गा रुपन्देहीका राजेश क्षेत्री र सितेश श्रेष्ठलाई एक करोड ८३ लाखमा बेचेको थिएँ,” उनी भन्छन्।
धवलसँग पुग्दा रुचालको जग्गा परिचितहरूमाझ नै थियो। आफ्नो जग्गा धवलसँगै छ भनेर ढुक्क बसेको उनी बताउँछन्। “एकाएक सितेश र राजेश वडामा सिफारिश लिन आएपछि मेरो जग्गा उनीहरूको नाममा पास भइसकेको थाहा पाएँ”, रुचाल सुनाउँछन्, “वडाध्यक्षज्यूले तिम्रो जग्गाको सिफारिश लिन आएका छन् भनेर बोलाएपछि झल्यास्स भएँ, मैले त ब्याङ्कबाट पैसा निकाल्न भनेर शिवकुमार धवलको योजनामा जितबहादुरको नाममा रहेको मेरो जग्गा केशवराज तेलीलाई पास गर्न स्वीकृति दिएको थिएँ। त्यसपछि त्यो जग्गा शिवकुमारको नाममा पुगेको मात्र थाहा थियो। उनले त मलाई थाहै नदिई बेचिसकेछन्।”
धवल भने आफूले जानकारी दिएरै बेचेको दाबी गर्छन्। उनका अनुसार ‘श्रृष्टि इँटा उद्योग’मा जग्गा बापत टिमबहादुर रुचालको पनि १५ प्रतिशत शेयर थियो। “आर्थिक संकट भएर घाटामा गएपछि हामीले उद्योग अरुको नाममा सार्यौं, त्यसमा टिमबहादुरको पनि सहमति थियो”, धवल भन्छन्।
हिमालखबरले प्राप्त गरेका कागजपत्रले भने धवलको दाबीलाई पुष्टि गर्दैनन्। २०७२ कात्तिक २२ गते शिवकुमार धोबी धवलले यमबहादुर रुचालको नाममा गरेको तमसुकमा प्रष्टसँग २०७५ सालभित्र जग्गा रुचालकै नाममा फिर्ता गर्ने उल्लेख छ। तमसुकमा लेखिएको छ–
‘जिल्ला नवलपरासी गाविस दाउन्ने देवी वडा नं. ४ बस्ने यमबहादुर रुचालको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा जि. न. पा. गाविस दाउन्नेदेवी वडा नं. ४ खको कि. नं. ८५ को ज. वि. १–७–१४ धुर जग्गा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका अन्तर्गत बस्ने जितबहादुर श्रेष्ठबाट ६ लाख रुपैयाँ घरखर्च गर्न बापत बुझिलिई सो जग्गा फिर्ता हुनेगरी बुझि लिएकोमा निजले जिल्ला नवलपरासी सनई गाविस वडा नं. ५ बस्ने केशवराज तेलीलाई सोही रकम बुझि लिई हस्तान्तर गरेकोमा निज केशवराज तेलीले सोही रकम बुझि जिल्ला रुपन्देहीका. शिवकुमार धोबी धवललाई हस्तान्तर गर्दा फिर्ता हुने गरी पुनः साविक जग्गा धनीकै नाम फिर्ता दिने गरी शर्तनामा भएकोमा ‘श्रृष्टि इँटा भट्टा’का मालिक श्री शिवकुमार धोबी धवलले मिति २०७५ सालभित्र साविक जग्गा धनी यमबहादुर रुचाललाई फिर्ता गर्ने सर्तमा यो शर्तनामाको कागज लेखी लेखाई सही छाप गरी तपाईं साविक जग्गाधनी यमबहादुृर रुचाललाई दिया…’ यसरी स्पष्ट रूपमा शर्तनामा गरिएको जग्गा मूलधनी रुचाललाई थाहै नदिई बेचेको जानकारी पाएपछि ब्याङ्कबाट ऋण लिने प्रक्रियामा सिफारिश लिन आएका क्षेत्री र श्रेष्ठलाई सिफारिश दिन रोक्ने प्रयास गरेको बर्दघाट नगरपालिका–१४ का वडाध्यक्ष सन्तबहादुर गाहा बताउँछन्। उनका अनुसार, वडा कार्यालयले सिफारिश दिन
नमानेपछि श्रेष्ठ र क्षेत्रीद्वयले जिल्ला अदालत नवलपरासीमा मुद्दा हाले। उनी भन्छन्, “जिल्ला अदालतले जसको नाममा जग्गा छ उसलाई सिफारिश देऊ भन्ने आदेश आएपछि हामीले सिफारिश गरिदियौं, टिमबहादुर रुचालको जग्गा रोक्ने प्रयास गरियो तर सकिएन।”
यसरी वडाको सिफारिश पाएका क्षेत्री र श्रेष्ठले धवलसँग किनेको ‘श्रृष्टि इँटा उद्योग’को नाममा तिनाउ मिशन डेभलपमेन्ट ब्याङ्कबाट ऋण लिए। तिनाउ ब्याङ्क सिटिजन्स ब्याङ्कमा गाभिएको छ। सिटिजन्स ब्याङ्कले हिमालखबरलाई उपलब्ध गराएको कागजात अनुसार इँटा उद्योगले लिएको ऋण समयमा नतिरेपछि धितो राखिएको उक्त जग्गा २०७९ असोज ३० गते ब्याङ्कले आफ्नो सम्पत्तिका रूपमा सकारेको छ।
“ऋण तिर्न पटकपटक ताकेता गर्दा पनि श्रेष्ठ र क्षेत्रीले नतिरेपछि लिलामीको प्रक्रियामा गएको थियो, तर तीन पटक सूचना प्रकाशन गर्दा पनि लिलामी नभएपछि ब्याङ्क आफैंले सकारेको हो,” सिटिजन्स ब्याङ्कका कर्जा असुली विभाग प्रमुख नबिन्द्र नापित भन्छन्। (साभार- हिमालखबर)