२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बिक्री गर्न नपाएपछि उत्पादीत मुला खेतमै नष्ट

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) ९५० पाठक संख्या

मोहन पौडेल
परासी , ६ जेठ – बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोईरीले यतिबेला तयारी अवस्थामा रहेको -मुला बिक्री नभए पछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो ।
दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । स्थानीय हाटबजारहरुमा आफै तरकारी बिक्री गर्दै आउनुभएका कोईरीले कोरोना भाईरसको महामारी शुरु भए पछि विगत दुई वर्ष देखि विशेषगरी मुलामा ठूलो घाटा व्यहोर्नुपरेको दैनिक 24 खबर डटकमसँग गुनासो गर्नुभयो ।
एक बिघा भन्दा बढी जग्गामा उहाँले लगाएका तरकारी बारीमा लटरम्म फलेका छन् । उहाँले मुला,काउली ,खुर्सानी ,बन्दा,धनिया, गाजर ,आलु,प्याज,गाजर लगायत खेती गर्नुभएको छ । तर उत्पादन भएका तरकारी बिक्री गर्न नपाए पछि उहाँ चिन्तित हुनुहुन्छ ।
बजार लान नपाए पछि कि त बारीमै नष्ट गर्नुपर्ने कि त सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यतामा पुगेको कोईरी बताउनुहुन्छ । यसवर्ष तीन कठ्ठा भन्दा बढीमा लगाएको तीस क्विन्टल बढी मूला नोक्सान भएको उहाँले बताउनुभयो ।
गत वर्ष पनि उत्पादन भएको ८० प्रतिशत मुला बारीमा नष्ट गर्नुपरेको उहाँले बताउनुभयो । अहिले बजारमा मुला प्रति केजी रु २० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ । तरकारीखेती बाटै घर घडेरी जोड्नु भएका कोईरीले तीनजना छोराछोरीलाई उच्च शिक्षासम्म पढाउन सफल हुनुभएको छ ।
तर विगत दुई वर्षदेखि तरकारीमा ठूलो क्षति सहनुपरेको उहाँ बताउनुहुन्छ । महामारीबाट बच्न निषेधाज्ञा जरुरी रहेको बताउँदै उहाँले कोभिड प्रभावित कृषकलाई उचित राहत ल्याउनुपर्ने माग गर्नुभयो ।
बजारमा तरकारी पाउन छोडेपछि उपभोक्ता पनि कृषकको बारीमा तरकारी खोज्दै पुग्न थालेका छन् । कोरोना भाईरसको सङ्क्रमण जोखिम र निषेधाज्ञाका कारण कृषकको खेतमा ताजा तरकारी किन्न आएको स्थानीय अर्जुन क्षेत्रीले बताउनुभयो । तर कृषकहरूको तरकारी बिक्री नभएर खेतमै नष्ट भएको देख्दा दुःख लागेको उहाँले बताउनुभयो ।
पन्ध्र धुरमा मुलाखेती गर्नुभएका अर्का कृषक रामनरेश राय पनि मुला बिक्री नभएर चिन्तित हुनुहुन्छ । उहाँ पनि यस क्षेत्रका सफल तरकारी कृषक हुनुहुन्छ । एक बिघा भन्दा बढीमा उहाँले विभिन्न जातका तरकारीखेती गर्नुभएको छ । मुलाखेतीमा भने घाटा सहनुपरेको उहाँ बताउनुहुन्छ ।
बीउ, मल र ज्याला खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा खेतमै नष्ट गर्नुप¥यो। ‘खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, अहिले फेरि बिक्री गर्न पाईएन, उहाँले भन्नुभयो ।
मौसम अनुसारको तरकारी लगाए पनि बिक्री नहुँदा यहाँका कृषक चिन्तित छन्। कोरोना सङ्कट लम्बिरहे अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको कृषक रायको भनाइ छ ।
विगतमा तरकारी खेतीबाट मनग्य आम्दानी गरेर घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भए पनि अहिले थला पर्नुपर्ने अवस्था आएको कृषक बताउँछन् । बजारमा लैजान नपाए पछि गाउँमै बाँड्ने वा खेतमै आउने उपभोक्तालाई सस्तो मूल्यमा मुला लगायत तरकारी बिक्री गर्नुपरेको कृषकको दुखेसो छ ।
एकातिर निषेधाज्ञाका कारण तरकारी बिक्री गर्न बजार जाँदा सुरक्षाकर्मीले रोक्ने , अर्कोतिर खुल्ला नाकाले भारतबाट तरकारी आउनु र बजारसम्म कृषकको पहुँच नहुनुका कारण कृषकले उत्पादन गरेको तरकारी बिक्री गर्न समस्या रहेको कृषकको भनाइ छ । स्वादिष्ट मानिने मुला औषधीय गुणले बहुउपयोगी मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस