२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्रामका सय दिन – साउनदेखि नै योजना सम्झौता, वडाबाटै भत्ता,नगर सौन्दर्यीकरण

२०७९ भाद्र २२, बुधबार प्रकाशित ( साल अघि) १२४५ पाठक संख्या

मोहन पौडेल
परासी, २२ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सय दिनका कामको उपलब्धी सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा सम्पादन भएका १०० दिनका काम र उपलब्धीको आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख धनपत यादवले तीस बुँदे काम सार्वजनिक गर्नुभयो । रामग्राममा सय दिनको अवधिमा आश जगाउने कामको शुरुवात भएको उहाँले बताउनुभयो । नगर प्रमुख यादवले सार्वजनिक गरेका काममा बाढी नियन्त्रणको पहलदेखि सार्वजनिक जग्गा संरक्षण अभियानसम्मका उपलब्धी समावेश गरिएको छ ।
नगरपालिकाले असारे विकासको प्रवृत्ति अन्त्य गर्न चैत भित्रै योजना सम्पन्न गर्ने कार्ययोजना बनाएर लागू गरेको छ भने ज्येष्ठ नागरिकले बैंकमा लाईन लागेर सामाजिक सुरक्षा भत्ता बुझ्नुपर्ने सास्तीलाई हटाउन वडा तहबाटै भत्ता वितरण गर्न पहल गरिएको छ ।
नगर प्रमुख यादवका अनुसार आर्थिक वर्षको अन्त्यमा मात्रै योजना सम्पन्न गर्ने प्रवत्तिको अन्त्य गर्न उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तथा अन्य नियमित कार्यक्रमहरु आर्थिक वर्षको चैत मसान्त भित्र सम्पन्न गर्ने गरी कार्ययोेजना बनाई लागू गरिएको छ ।
विगतमा आर्थिक वर्ष भरी योजना सम्झौता गर्ने प्रक्रियालाई न्यूनीकरण गर्दै आर्थिक वर्षको साउनदेखि नै सम्झौता गर्ने कार्यलाई तीव्रता दिईएको छ । जसअनुसार चालु आवमा साउनदेखि हालसम्म २५ वटा योजनाको ठेक्का प्रक्रिया शुरुभईसकेको नगर प्रमुख यादवले बताउनुभयो ।
रामग्राम नगरपालिकालाई सफा सुग्गर र हरियाली बनाउन प्रत्येक हप्ताको शनिबार नगर सफाई अभियान सञ्चालन गरिएको छ भने सदरमुकाम परासी बजार क्षेत्रलाई सौन्दर्यीकरण गर्न मुख्य बजार क्षेत्रमा गमलामा विरुवा रोप्ने तथा बुद्धचोकदेखि निलोगेटसम्मको सडक डिभाईडरमा फूलका विरुवा रोपिएको नगर प्रमुख यादवले बताउनुभयो ।
नगरपालिकाकै पहलमा परासीको वाईपास चोक(बालगोविन्द पेट्रोल पम्प)देखि रामखण्डा पुलसम्मको सडकलाई विस्तार गरी रु दश करोडको लागतमा ६ लेनको सडक बनाउने कार्य शुरु भएको छ । रामग्राम १५ शुक्रौली देखि घिनाहा जोड्ने गरी पुल निर्माणका लागि डिपिआर निर्माण गरिएको छ भने रामग्राम १८ बड्गो देखि विरनी जोड्ने बाटोमा पर्ने खोलामा पुल निर्माणका लाडि डिपिआर निर्माणको काम शुरु भएको नगर प्रमुख यादवले बताउनुभयो ।
मन्झरियाचोक देखि पाल्हीनन्दनको सनई जोड्ने गरी पक्की सडक निर्माणको लागि डिपिआर तयार गर्ने कार्य प्रारम्भ भएको छ भने दुई वर्षदेखि सञ्चालन हुन नसकेको रामग्राम २ मा निर्मित हाट बजार क्षेत्रका ५४ वटा सटरहरुको आय ठेक्का बन्दोबस्त गरिएको छ ।परासीको बुद्धचोकमा रहेको बुद्धमूर्तिसहितको संरचनालाई मर्मतसम्भार गरी चारैतिरबाट सिसा र टायलले संरक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
बजार क्षेत्रलाई कुरुप बनाउने गरी छरपष्ट रुपमा रहेका ईन्टरनेट तथा केवलका तारहरु हटाउन र व्यस्थि तगर्न सम्बन्धित पक्षलाई पत्राचार गरिएको नगर प्रमुख यादवले बताउनुभयो । बुद्धचोकमा आधुनिक सुविधासम्पन्न शौचालय सञ्चालनमा ल्याईएको छ भने पिउने पानीको समस्या समाधान गर्न पहल गरिएको उहाँले बताउनुभयो ।
नगरको गहनाको रुपमा रहेको पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यको पुरातात्विक जिर्णघरलाई ममर्तसम्भार गरी संग्रालयको रुपमा विकास गर्ने प्रक्रिया थालिएको पनि नगर प्रमुख यादवले बताउनुभयो ।
नगरपालिकाले शैक्षिक सुधारलाई प्राथमिकता दिँदै कक्षा पाँच सम्मका बालबालिकालाई विद्यालयमा उपस्थितिका लागि प्रोत्साहन गर्न प्रति विद्यार्थी रु दशका दरले उपलब्ध गराउन शुरु गरिएको छ भने स्थानीय पाठ्यक्रम हाम्रो रामग्राम प्रकाशन गरी लागू गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको नियमित अनुगमन थालिएको पनि उहाँले बताउनुभयो । रामग्राम नगरपालिकाले कृषि,स्वास्थ्य, यूवा स्वरोजगारलाई पनि उच्च प्राथमिकतामा राखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
चुनावमा गरेका प्रतिवद्धता अनुसार नै समृद्ध रामग्राम नगर बनाउन सबै जनप्रतिनिधि एक भएर लागिरहेको नगर प्रमुख यादवको भनाई थियो । सबै नगरवासीको साथ र सहयोगकै कारण नगर विकास कार्य अघि बढीरहेको उपप्रमुख सम्झना चौधरीले बताउनुभयो । उहाँले कानून बनाएर बजार अनुगमनलाई तीव्रता दिने बताउँदै न्यायिक समितिलाई पनि प्रभावकारी बनाउँदै लगिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले नगर विकाससँगै सुशासन कायम गर्ने पाटोलाई प्राथमिकता दिएको बताउनुभयो । सूचना प्रणालीलाई व्यवस्थित र नियमित गराउने र त्रैमासिक रुपमा बुलेटिन मार्फत नगरका गतिविधि सार्वजनिक गर्ने व्यवस्था मिलाईने बताउनुभयो । आवश्यकता अनुसार कानून निर्माणलाई जोड दिँदै नगरको कार्यसम्पादन प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिईएको खड्काले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%१%

प्रतिक्रिया दिनुहोस