

परासी, १० फागुन । पश्चिम नवलपरासी क्षेत्र नं.२ मा चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले समग्र क्षेत्रको विकास केन्द्रित प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ ।
नवलपरासीलाई “समृद्ध, आत्मनिर्भर र सुरक्षित समाज” बनाउने लक्ष्यसहित सार्वजनिक गरिएको उक्त घोषणाले स्थानीय स्तरमै ठोस परिवर्तन ल्याउने दाबी गरिएको छ।
उम्मेदवार गुप्ताले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको प्रतिबद्धता–पत्रमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने योजना मुख्य एजेण्डाका रूपमा अघि सारिएको छ। सार्वजनिक खर्चको निगरानी, डिजिटल प्रणालीमार्फत पारदर्शिता र प्रभावकारी सार्वजनिक सुनुवाइ व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ।
पर्यटन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई अर्को प्राथमिकतामा राख्दै जिल्लाभित्र रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक स्थलहरूको संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना अघि सारिएको छ। देवदह ताल, रामग्राम स्तूप, पण्डितपुर, कोलवृक्ष लगायत क्षेत्रलाई धार्मिक–पर्यटकीय सर्किटका रूपमा विकास गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ।
कृषि र सिँचाइतर्फ नदी तथा खोलाबाट सिँचाइ आयोजना विस्तार, भूमिगत सिँचाइ प्रणाली विकास, किसानलाई सहज ऋण, बीउ र मल उपलब्ध गराउने तथा व्यावसायिक कृषिमा रूपान्तरण गर्ने कार्यक्रम समावेश गरिएको छ। कृषि उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
शिक्षा र युवातर्फ रोजगारमुखी शिक्षालय स्थापना, खेल पूर्वाधार विकास, आईटी तालिम तथा स्टार्टअप प्रवद्र्धनमार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ। स्थानीय क्याम्पसहरूमा उच्च तहसम्म अध्ययनको व्यवस्था विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ।
स्वास्थ्य सेवामा जिल्ला पृथ्वीचन्द्र अस्पतालको स्तरवृद्धि, सुनवल–८ मा स्वास्थ्य चौकी सुदृढीकरण तथा १५ शैय्याको अस्पताल निर्माणमार्फत गुणस्तरीय सेवा सर्वसुलभ बनाउने योजना समावेश छ। उद्योग, रोजगारी र आर्थिक विकासका लागि वातावरणमैत्री उद्योग स्थापना, सहुलियत ऋण र कर छुटमार्फत उत्पादन तथा निर्यात बढाउने नीति प्रस्ताव गरिएको छ।
पूर्वाधार विकासतर्फ महेशपुर भन्सारलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने, सडक, खानेपानी, ढल तथा सरसफाइ सुधार गर्ने तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने कार्यक्रम अघि सारिएको छ। महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई पनि प्राथमिकता दिइएको छ।
उम्मेदवार गुप्ताले क्षेत्रको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको र घण्टी चुनाव चिह्नमा मतदान गरी साथ दिन अपिल गर्नुभयो । जनताको विश्वास पाए नवलपरासीलाई विकास, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।