

परासी, ४ फागुन । पश्चिम नवलपरासीस्थित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार भिमबहादुर थापा (भरत थापा) विकास र समृद्धिको एजेण्डा बोकेर चुनावी मैदानमा सक्रिय हुनु भएको छ ।
सोमबार सुनवलबाट औपचारिक रूपमा चुनाव प्रचार सुरु गर्दै थापा यतिबेला मतदाता भेटघाट तथा घरदैलो अभियानमा व्यस्त हुन थाल्नु भएको हो ।
सुनवल नगरपालिकाका पूर्व मेयर, नवलपरासी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका थापा अनुभवी र विकासमुखी नेताका रूपमा परिचित हुनुहुन्छ ।
मेयर हुँदा उहाँले नगरको पूर्वाधार, आर्थिक गतिविधि र समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ। यही अनुभव र योजना लिएर उहाँ पुनः जनमतको परीक्षा दिन अघि बढ्नु भएको छ।
घरदैलो अभियानको सुरुवात सुनवल–४ बाट थाल्नु भएका थापा “समृद्ध नवलपरासी” निर्माणलाई आफ्नो मुख्य लक्ष्य रहेको बताउनुहुन्छ ।
आफू निर्वाचित भए जिल्लाको आर्थिक, सामाजिक, राजनीतिक तथा पर्यटन विकासलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
थापाले सुनवल क्षेत्रको आर्थिक उन्नतिका लागि पर्यटनलाई मुख्य आधार बनाउने योजना सार्वजनिक गर्नु भएको छ ।
महलपोखरी, हिल पार्क, वन वाटिका, बाबा बर्दगोरिया लगायतका क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी सुनवललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उहाँको लक्ष्य छ।
उहाँसँगै समानुपातिकतर्फकी उम्मेदवार सुनिता सुवेदी श्रेष्ठ पनि सुनवल–१ र ४ मा मतदाता भेटघाटमा सक्रिय हुनु भएको छ । घरदैलो अभियानको शुभारम्भ कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।
विकासको अनुभव भएको उम्मेदवार पाएको भन्दै मतदाता आशावादी देखिएको अभियानमा सहभागिहरुले बताएका छन् ।