

परासी,३ फागुन । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पुनः बिनोद चौधरी उम्मेदवार बनेपछि उक्त क्षेत्रमा नेपाली कांग्रेसका जिल्ला सदस्यसहित ६ जना प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन्। यस घटनाले कांग्रेसभित्र ठूलो हलचल सिर्जना गरेको छ।
पार्टी छोड्नेहरूमा जिल्ला सदस्य ध्रुवराज जमरकट्टेल, बर्दघाट नगर सभापति दामोदर जिसी, प्रदेशसभा क्षेत्र १(क) का सचिव भवानीशंकर भट्टराई, प्रतिनिधिसभा क्षेत्र १ का सचिव बालिन्द्र विक्रम शाही, नगर सहसचिव हरीप्रसाद अधिकारी र क्षेत्रीय कार्यसमिति सदस्य सुधिर पौडेल हुनुहुन्छ ।
उहाँहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै हालसम्म सम्हालेका पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । स्थानीय कार्यकर्ता र मतदाताको भावना विपरीत पार्टीबाट टिकट वितरण भएको तथा क्षेत्रले चाहेको उम्मेदवार नदिइएको आरोप उहाँहरूको छ ।
निवर्तमान नगर सभापति दामोदर जिसीले कार्यकर्ताको माग र जनभावनाको बेवास्ता भएपछि पार्टीमा बसिरहन नसकिएको बताउनुभयो। क्षेत्रीय सचिव शाहीले स्थानीय उम्मेदवारका पक्षमा उठाइएको आवाजलाई केन्द्रीय नेतृत्वले बेवास्ता गरेपछि राजीनामा दिन बाध्य भएको बताउनुभयो ।
शनिबार मात्रै जमरकट्टेल, शाही, जिसी, पौडेल र अधिकारीले एकैदिन राजीनामा दिनु भएको हो । यसअघि राजीनामा दिनु भएका भट्टराई भने राष्ट्रिय स्वतन्त्र पार्टीमा खुल्नु भएको छ ।
राजीनामा दिएका सबै नेताले आगामी निर्वाचनमा रास्वपाका उम्मेदवार विक्रम खनाललाई समर्थन गर्ने बताइएको छ ।
यस क्षेत्रमा कांग्रेसका अन्य नेता तथा कार्यकर्ताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको स्रोतको दाबी छ। कांग्रेसका केन्द्रीय सदस्य चौधरी उम्मेदवार रहेको यो क्षेत्रमा पछिल्लो राजनीतिक घटनाक्रमले चुनावी समीकरण बदलिने सक्ने संकेत देखिएको छ।