२०८२ माघ ३०, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासी–२ मा राप्रपा उम्मेदवार प्रधानलाई नेकपा मालेको समर्थन

२०८२ माघ ३०, बिहिबार प्रकाशित ( घण्टा अघि) १६६ पाठक संख्या

परासी, २९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा माले नवलपरासीले राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पश्चिम नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार ध्रुवबहादुर प्रधानलाई समर्थन गर्ने घोषणा गरेको छ।
विहीबार परासीमा आयोजित कार्यक्रममा नेकपा मालेका जिल्ला सचिव तथा केन्द्रीय सदस्य भरत पाण्डेयले वर्तमान राजनीतिक अवस्थालाई देश जोगाउने र देश घात गर्ने दुई ध्रुवबीचको लडाइँ भन्दै आफ्नो पार्टी देश जोगाउने अभियानको पक्षमा उभिएको बताउनुभयो । “देशभक्ति अभियानमा हामी सबै होमिनुपर्छ,अहिलेको अवस्थामा ध्रुवबहादुर प्रधान नै सही उम्मेदवार हुनुहुन्छ,” पाण्डेयले भन्नुभयो, “गोली चलाउने र देश जलाउने धारभन्दा देश बनाउने मार्ग रोज्नुपर्छ।”
उहाँले आवेगमा आएर ‘दुर्गन्धित लहर’ पछ्याउन नहुने चेतावनी दिँदै पहिले देश जोगाउनुपर्ने र त्यसका लागि उपयुक्त एजेन्डा बोकेको शक्तिलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विगतका निर्वाचनमा पनि प्रधानलाई समर्थन गरिएको स्मरण गराउँदै उहाँले प्रधानले जितेर काम गरे पनि प्रचार कम भएको दाबी गर्नुभयो ।
पाण्डेयका अनुसार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिने पहलमा पनि राप्रपाको योगदान रहेको छ। ”प्रधानलाई अधुरा काम पूरा गर्न फेरि अवसर दिनुपर्छ,” उहाँले भन्नुभयो । ‘जेनजी’को नाममा अनुभवी नेतृत्वलाई पन्छाउन नहुने उहाँको तर्क थियो।

मालेको समर्थनप्रति आभार व्यक्त गर्दै राप्रपा उम्मेदवार ध्रुवबहादुर प्रधानले मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजान राप्रपा प्रतिबद्ध रहेको बताउनुभयो । “मेरो उम्मेदवारीलाई सहयोग गर्ने निर्णयप्रति म र पार्टीका तर्फबाट धन्यवाद व्यक्त गर्दछु,” उहाँले भन्नुभयो, “पृथ्वीपथबाट निर्देशित हाम्रो पार्टी मुलुकको पहिचान, धर्म र संस्कृतिको संरक्षणका लागि दृढ छ।”
नेता प्रधानले हिन्दु राष्ट्रको पहिचान पुनःस्थापनाका लागि जनमतमार्फत संघर्ष गर्ने उल्लेख गर्नुभयो । मुलुकको दीर्घकालीन स्थायित्वका लागि राजसंस्थाको अपरिहार्यता रहेको दाबी गर्दै प्रजातान्त्रिक प्रक्रियामार्फत त्यसलाई स्थापित गर्न सकिने उहाँको विश्वास थियो ।
छिमेकी राष्ट्रसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापना आफ्नो पार्टीको प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “हामी स्थिरता, सुशासन र राष्ट्रिय पहिचानको पक्षमा उभिएका छौँ”
उक्त अवसरमा नेकपा एमाले परित्याग गरी सुनवल १३ का मनोज ढुंगाना र तेजप्रसाद न्यौपाने राप्रपामा प्रवेश गरेको राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस