

परासी, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार नवनित कुमार मिश्रले आफूलाई नयाँ सोच र स्पष्ट भिजन बोकेको युवा नेतृत्वका रूपमा प्रस्तुत गर्नुभएको छ ।
मिश्रले आफू यही क्षेत्रको छोरा भएको उल्लेख गर्दै यहाँका समस्या नजिकबाट देखेको र भोगेको बताउनुभयो । “यो क्षेत्रबाट पटक–पटक प्रतिनिधित्व भए पनि अपेक्षित परिवर्तन हुन सकेन,” उहाँले भन्नुभयो, “अब नयाँ जोश, जाँगर र इमान्दार नेतृत्व आवश्यक छ।”
मिश्रले राप्रपाको एजेण्डालाई स्पष्ट पार्दै सर्वधर्म समभावसहितको वैदिक सनातन हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, बलियो स्थानीय तह, भ्रष्टाचारमा शून्य सहनशीलता र राजसंस्थाको पुनःस्थापनालाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँका अनुसार राप्रपा अहिलेको राजनीतिक परिस्थितिमा “विकल्प मात्र होइन, आवश्यकता” पनि हो।
स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै मिश्रले कृषि क्षेत्रको सम्भावनालाई जोड दिनुभएको छ । “हाम्रो भूमि उर्वर छ, उखु र केरा उत्पादन प्रशस्त हुन्छ, तर किसानले उचित मूल्य पाएका छैनन्। विचौलियाको अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो । मल कारखाना स्थापना सम्भावनाको अध्ययन गरी कृषिलाई आत्मनिर्भर बनाउने उहाँको प्रतिबद्धता छ ।
युवालाई रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “युवालाई श्रमिक होइन, उद्योगी बनाउनु पर्छ।” स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार तथा बाढी समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्ने उहाँको भनाइ छ।
भ्रष्टाचार अन्त्य र सुशासन स्थापनालाई मुख्य प्रतिबद्धता बताउँदै मिश्रले मतदातासँग एकपटक अवसर दिन आग्रह गर्नुभएको छ । “म झुटा आश्वासन दिन्न। जनताको आवाज संसदमा बुलन्द गर्नेछु,” उहाँले भन्नुभयो ।
विगतका जनप्रतिनिधिहरूप्रति असन्तुष्टि बढिरहेको सन्दर्भमा आफू र आफ्नो पार्टीलाई नयाँ विकल्पका रूपमा प्रस्तुत गर्दै मिश्रले जनताको विश्वास नै आफ्नो जितको आधार हुने दाबी गर्नुभयो ।