

मोहन पौडेल
परासी,२५ माघ । पश्चिम नवलपरासीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १२ वटा मतदान स्थललाई अति संवेदनशील घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ८ र क्षेत्र नं. २ मा ४ वटा मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको हो । विशेषगरी सीमावर्ती क्षेत्रको नजिक रहेका मतदान स्थललाई सुरक्षाको दृष्टिले अति संवेदनशील घोषणा गरिएको एसपी श्रेष्ठले दैनिक ट्वान्टीफोर खबर डटकमलाई बताउनुभयो ।
यस्तै संवेदनशील मतदान स्थल निर्वाचन क्षेत्र नं. १ मा २९ र क्षेत्र नं. २ मा २८ वटा रहेका छन् भने सामान्य मतदान स्थल क्षेत्र नं. १ मा २५ र क्षेत्र नं. २ मा २८ वटा रहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नवलपरासी जिल्लाभर कुल १२२ वटा मतदान स्थल र २९७ वटा मतदान केन्द्र तोकिएका छन्। जसमध्ये निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १४८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ मा ६० मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन्।
निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ८० जना र निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३१ हजार ७७ जना गरि जिल्लाभर कुल मतदाता संख्या २ लाख ५४ हजार १५७ रहेको छ ।
कुल मतदातामध्ये १ लाख २९ हजार १८३ पुरुष, १ लाख २४ हजार ९७० महिला तथा ४ जना अन्य मतदाता रहेका छन्।
प्रहरी उपरीक्षक श्रेष्ठले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अति संवेदनशील तथा संवेदनशील मतदान स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षा निगरानी कडा बनाइने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट करिव ८ सय प्रहरी परिचालन गरिनेछ भने एक हजार ५०४ जना निर्वाचन प्रहरी खटिने छन् । सशस्त्र प्रहरी तर्फबाट पनि १९९ जना निर्वाचन प्रहरी खटिने बताइएको छ ।