२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कृषि ज्ञान केन्द्र परासीको आयोजनामा यसरी मनाईयो धान दिवस तथा रोपाइँ महोत्सव

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) ७९५ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीको आयोजनामा आज विशेष उत्सवको रुपमा मनाईने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको छ । उक्त अवसरमा कृषकको मनोबल बढाउन जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र कृषकले संयुक्त रुपमा धान रोपाइँ पनि गरे ।
राष्ट्रिय धान दिवसको अवसरमा आज रामग्राम नगरपालिका—१० स्थित नौडिहवा गाउँमा स्थानीय कृषक सन्तबहादुर चौधरीको खेतमा कृषि ज्ञान केन्द्र परासीले रोपाइँ महोत्सवको आयोजना गरी उक्त अवसर जुराएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, उपप्रमुख अब्दुर रहमान चुरिहार, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, उपप्रमुख रम्भा कुंवर, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र, कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्याय लगायतले कृषकको खेतमै पुगेर धान रोप्नुभएको हो ।
कृषककै सन्तान भएपनि सामाजिक क्षेत्रमा लागेपछि लामो समयदेखि रोपाई गर्ने फुर्सद नपाएकोले आजको दिन छुट्टै अनुभव तथा कृषकका समस्यालाई पनि नजिकबाट बुझ्ने मौका पाएको जनप्रतिनिधिहरुको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख रायले आफू कृषक नै भएकोले रोपाई गर्दै आएको तर आज सबै मिलेर यसरी रुपमा रोपाइँ गर्दा खुशी लागेको बताउनुभयो ।
रामग्राम नगरपालिकाका प्रमुख गुप्ताले लामो समयको अन्तरालपछि आफूले धान रोपेको प्रतिक्रिया दिनुभयो । उहाँले सिँचाईको दीर्घकालिन समाधान नभएसम्म उत्पादनमा वृद्धि हुन नसक्ने बताउनुभयो । नगरपालिकाले उत्पादन वृद्धिका लागि अनुदानमा कृषि उपकरण वितरण गर्ने लगायतका कार्यक्रम गरेको उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी मिश्रले धान उत्पादन वृद्धिका लागि कृषकलाई सुविधासम्पन्न र प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । रोपाइँको अनुभव आफ्नो लागि नौलो भएको बताउँदै उहाँले कृषकका समस्या समाधान गर्न सदैव तयार रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख अब्दुर रहमान चुरिहार, रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुवर, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्याय लगायतले धान उत्पादन वृद्धिका लागि कृषक प्रोत्साहित कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्रले यसवर्ष समयमै वर्षा भएकोले अधिकांश कृषकले रोपाइँ गरिसकेको जानकारी दिनुभयो । कृषकले समयमै मल पाएको र वर्षा पनि भएकोले ९० प्रतिशत रोपाइँ सकिएको उहाँको भनाई थियो ।
यस वर्ष गत वर्षको भन्दा दशदेखि बाह्र प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उहाँँले बताउनुभयो । जिल्लामा करिब २२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस