२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जर्गाहामा एक घण्टामा बीस हजार बढी बिरुवा रोपियो, वनपैदावर आयात अन्त्य गर्नुपर्छ – मुख्यमन्त्री पोखरेल

२०७८ अषाढ १४, सोमबार प्रकाशित ( साल अघि) १२८३ पाठक संख्या

मोहन पौडेल
परासी, १४ असार । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा एक घण्टामा बीस हजार बढी विरुवा रोपिएको छ । तेस्रो राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सुनवल नगरपालिका ११ जर्गाहास्थित कोटहीदेवी सामुदायिक वन क्षेत्रमा आज बृहत वृक्षारोपण कार्यक्रम गरी एक घण्टामा बीस हजार विरुवा रोपेर राष्ट्रिय रेकर्ड कायम गरिएको हो ।
अभियानको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले वृक्षारोपण गरेर शुभारम्भ गर्नुभएको थियो । लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सिसौ, अमला, टिक, जामुन, कदम, खयर लगायत प्रजातिका बिरुवा रोपिएको हो ।
सामुदायिक वनको खाली रहेको २९ हेक्टर क्षेत्रफलमा ३९ हजार वृक्षारोपण गर्ने लक्ष्य अनुसार आज पन्ध्र हेक्टर क्षेत्रफलमा बीस हजार ९०० बिरुवा रोपिएको प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
वन संरक्षण र हरियाली प्रर्वद्धन गर्न लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममै समेटेर एक घण्टामा बीस हजार बिरुवा रोपेर राष्ट्रिय रेकर्ड बनाउन सफल भएको मन्त्री पाण्डेले बताउनुभयो ।
जन्मदेखि मृत्युसम्म प्रयोग हुने काठदाउरा र वन क्षेत्र जोगाउन सके आर्थिक स्रोत पनि हुने भएकोले प्रदेश सरकारले वृक्षारोपण दिवसलाइृ उत्सवको रुपमा मनाएको उहाले बताउनुभयो ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले वन क्षेत्रको दीगो व्यवस्थापन र सरक्षणबाट काठजन्य बस्तुको आयातलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । वृक्षारोपणमा राष्ट्रिय रेकर्ड कायम गर्ने सङ्कल्पलाई सफल पार्न उहाँले आग्रह गर्नुभयो । वृक्षारोपण गरेर मात्र कर्तव्य पूरा नहुने भन्दै उहाँले रोपिएका बिरुवाको संरक्षण, गोडमेल, हुर्काउने, बढाउने अभियान चलाउन आग्रह गर्नुभयो ।
अक्सिजनको स्रोतको रुपमा रहेका रुख जोगाउने कुरा मानव जीवनको अपरिहार्य विषय भएको उहाँको भनाई थियो । पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न, हरियाली प्रवद्र्धन गर्न सबैको पहल आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण (बर्दघाट सर्दी १३२ केभी प्रसारण लाईन आयोजना) मार्फत क्षतिपूर्ति वृक्षारोपण बापत प्राप्त विरुवा रोपिएको हो ।
उक्त अवसरमा डिभिजन वन कार्यालय परासीका प्रमुुख शङ्कर प्रसाद गुप्ता र कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरी प्रसाद जैसीले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस