२०८२ अषाढ ३०, सोमबार
24 खबर अपडेट

समूहको शक्ति : आत्मनिर्भरतादेखि सामाजिक दृष्टिकोणमा परिवर्तनसम्म

२०८२ अषाढ २६, बिहिबार प्रकाशित ( दिन अघि) १७६ पाठक संख्या

मोहन पौडेल
परासी, २५ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अपांगता भएका व्यक्तिहरु समूहमा संगठित भएर आफ्ना अधिकारबारे सचेत हुँदै सामाजिक दृष्टिकोणमा समेत परिवर्तन ल्याउन सफल भएका छन् ।
वडा तथा पालिका स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिमा आबद्ध भएर उनीहरुले आफ्नो क्षमता, अधिकार र योगदानप्रति समाजमा सकारात्मक सोच विकास गराउँदै आयआर्जनतर्फ अग्रसर बन्न थालेका हुन् ।
सुनवल सामुदायिक विकास केन्द्रले वडामा गठित अपांगता अधिकार प्रवद्र्धन समितिलाई सक्रिय बनाएपछि त्यसमा आवद्ध अपांगता भएका व्यक्तिहरुको आत्मनिर्भरता, आत्मविश्वास र नेतृत्व क्षमतामा अभिवृद्धि गराएको छ। उनीहरुले रोजगारी, शिक्षा, स्वास्थ्य र पहुँचको विषयमा आवाज उठाउन थालेका छन्। यसले नीति निर्मातादेखि स्थानीय तहसम्म अपांगता सम्बन्धी सवाललाई प्राथमिकतामा राख्नुपर्ने दबाब बढेको छ ।
समाजमा पहिले अपांगता प्रति रहेको हेय दृष्टिकोणमा अहिले उल्लेखनीय सुधार आएको पाल्हीनन्दन–६ स्थित वडा स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिका अध्यक्ष रहमान देवानले बताउनुहुन्छ । “समूहमा आवद्ध भएपछि पहिला हामी आफैं सचेत भयौं, अधिकारको माग गर्न सिक्यौं, अनि घरदैलो गर्दै समाजलाई सम्झाउन थालेपछि हामीलाई हेर्ने दृष्टिकोण नै फेरियो,” उहाँले भन्नुभयो ।
समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन मात्रै होईन उनीहरुले आफ्नो जीवनमा पनि परिवर्तन ल्याएका छन् । “समूहमा हामीले अपांगता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको जीवन सहज बनाउन सहजीकरण गर्छाैँ,संगठित भएर आवाज उठाउँदा हामीमा हिम्मत थपिएको छ,बोल्ने क्षमताको विकास, नेतृत्व विकास भएको छ,तालिम तथा सशक्तीकरणको माध्यमबाट हाम्रो जीवनशैली परिवर्तन भएको छ”,देवानले भन्नुभयो ।

पाल्हीनन्दन ६ स्थित वडा स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिको बैठकमा छलफल चल्दै

पाल्हीनन्दन ६ स्थित वडा स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिको बैठकमा छलफल चल्दै

यूनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित अपांगता समावेशी विकास परियोजनाले वडा स्तरीय समितिमार्फत अपांगता भएका व्यक्तिको क्षमता अभिवृद्धि एवं जीवनस्तर उकास्न सहयोग पु¥याइरहेको छ। अपांगता भएका व्यक्तिहरुको समूहिक गतिविधिबाट उद्यमशीलता, सीप विकास तथा अभिव्यक्तिको माध्यम विस्तार हुँदै गएको छ।
विशेषगरी ग्रामीण क्षेत्रका अपांगता भएका व्यक्तिहरु संगठित भई सामूहिक अभियानमार्फत समाजको सोच परिवर्तन गर्ने काममा लागिरहेको पाल्हीनन्दन गाउँपालिका स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिका अध्यक्ष दिनेश चमार बताउनुहुन्छ ।
“हामी प्रत्येक महिना बैठक बस्छौँ, एक अर्काका आवश्यकताहरुको पहिचान र समस्याहरुबारे छलफल गर्छाैँ,हामीलाई पनि अन्य व्यक्तिसरह समानताको हक चाहिन्छ भनेर आवाज उठाउँछौँ”,उहाँले भन्नुभयो,“अपांगता भएका साथीहरुको जीवन सहज बनाउने विषयमा हामी बढी केन्द्रित हुन्छौँ।”
परियोजनाले यहाँका अपांगता भएका व्यक्तिहरुको जीविकोपार्जनमा सुधार ल्याउन विउ पुँजी उपलब्ध गराउँदै आएको छ । वडा स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिबाटै निर्णय गरेर आवश्यकता र सीप अनुसारको भैँसी,बाख्रा पालन, सिलाइ लगायतका सीपतालिम तथा मेसिन,किराना पसलका लागि विउ पुँजी उपलब्ध गराउने गरिएको पाल्हीनन्दन–४ स्थित वडा स्तरीय अपांगता अधिकार प्रवद्र्धन समितिका अध्यक्ष मोहन पासीले बताउनुभयो ।
“हामी हाम्रो अधिकारप्रति सचेत भएर सामूहिक रुपमा आवाज उठाउन थालेपछि समाजमा धेरै परिवर्तन आएको छ,पढ्न नपाएका अपांगता भएका बालबालिकालाई विद्यालय भर्ना गरेर शिक्षाको पहुँचमा पुर्याएका छौँ,निरन्तर आवाज उठाएपछि विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सार्वजनिक निकायका संरचना पहुँचयुक्त बनिरहेका छन्,अपांगता परिचयपत्र बनाउन सहजीकरण गरिरहेका छौँ”,उहाँले भन्नुभयो ।
विगतमा अपांगता भएका व्यक्तिहरुप्रतिको नकारात्मक दृष्टिकोणका कारण समाजमा उनीहरु घुलमिन हुन पाउँदैन्थे । पाल्हीनन्दन–६ की दृष्टिविहीन अपांगता भोलरी सहानी भन्नुहुन्छ,“समितिमा बस्न थालेपछि मैले बोल्न सिँके, समाजमा इज्जत मान सम्मान पाउन थाँले,समाजमा घुलमिल हुन पाँए,हामीलाई हेर्ने नजर परिवर्तन ल्यायौँ,हामीले आपसमा आफ्ना समस्या खुलेर राख्ने र समाधान खोज्ने गरेका छौँ,एससिडिसीले हाम्रो लागि धेरै सहयोग गरेको छ, जति धन्यवाद दिए पनि अपुग नै हुन्छ”
पाल्हीनन्दन–६ का दृष्टिविहीन अपांगता अनुप कुमार पाण्डे पनि परियोजनाको सहयोगबाट पसल सञ्चालन गरी अपांगता भएका व्यक्तिहरुको हितमा लागिरहनुभएको छ । वैदेशिक रोजगारीको क्रममा ब्रेन टियुमर भएर दुवै आँखाको ज्योति गुमेपछि भएको खेतबारी बेचेर उपचार गर्दा पनि ज्योति नफर्किएपछि निराश भएर घरमै बस्दै आउनुभएका पाण्डेलाई एससिडिसीका सामाजिक परिचालकले सम्झाइ बुझाइ समाजमा घुलमिल हुन र समितिमा आवद्ध हुन प्रेरित गरेका थिए ।
बिउँ पुँजीको सदुपयोग भए नभएको विषयमा बेलाबेला वडा स्तरीय समितिले अनुगमन, मूल्यांकन गर्ने र आवश्यकता अनुसार सहजीकरण पनि गर्दै आएको पाल्हीनन्दन–४ वैरवाकी भमानी पासी बताउनुहुन्छ । परियोजना मार्फत आफूले पनि बाख्रापालन गरिरहेको बताउँदै उहाँले अपांगता हुँदैमा निराश हुन नहुने बरु आफ्नो अधिकार खोजेर सहज जीवनयापनका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
६ वटा वडा रहेको पाल्हीनन्दन गाउँपालिकामा करिब एक हजारको संख्यामा अपांगता भएका व्यक्तिहरु रहेका छन् । परियोजनाले उनीहरुलाई समूहमा आवद्ध गराउने, क्षमता अभिवृद्धि तथा सीप विकास, आयआर्जनमा सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएको परियोजनाका संयोजक श्याम सुन्दर ढुंगानाले बताउनुभयो । परियोजनाले विगत तीन वर्षदेखि पश्चिम नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाका अपांगता भएका व्यक्तिहरुको पक्षमा पैरवी गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस