मोहन पौडेल
परासी, १७ असार । खाद्यन्न उत्पादनको क्रममा प्रयोग गरिने विषादीको असर न्यूनीकरण गर्न कृषक, उपभोक्ता एवं व्यवसायीहरुलाई सचेत गराइएको छ ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले सोमबार एक कार्यक्रम गरी रामग्राम नगरपालिका भित्रका कृषक, कृषक समूह,उपभोक्ता, एग्रोभेट व्यवसायी तथा स्थानीय जनप्रतिनिधिहरुलाई बढ्दो विषादीको प्रयोगका असर, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिम तथा विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाका उपाय लगायतका विषयमा सचेत गराएको हो ।
पछिल्लो समय जानेर वा नजानेर विषादीको प्रयोग गर्ने क्रम बढेकोले सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा सचेतना गराइएको स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो ।
“सबै किसिमका विषादी विष हुन्, औषधी होईनन् भन्ने विर्सनु हुँदैन् ।” उहाँले भन्नुभयो । विषादीयुक्त तरकारी प्रयोगको तत्कालीन र दीर्घकालीन असरहुने उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार विषादीको प्रयोगले तत्कालिन असर स्वयम कृषकलाई पर्ने गर्छ। विषादी प्रयोगको तरिका नजान्दा र सुरक्षाको उपायहरु नअपनाउँदा कृषक आफै समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । बिषादीले थकान, रिंगटा लाग्ने, धमिलो देख्ने, वाक्कवाक्क लाग्ने, आँखा नाक पोल्ने, स्वास प्रश्वासमा कठिनाइ छाला चिलाउने जस्ता समस्या हुन्छ। यसको मात्रा बढि भएमा तत्कालै वा केही हप्तापछि मृत्यु पनि हुनसक्छ।
घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा ह्रास ल्याउने चिकित्सकहरु बताउँछन्। यसका अलावा स्नायुको विकास र व्यवाहारमा विकृति, जन्म विकृतिदेखि क्यान्सरसम्मको सम्भावना रहन्छ।
विषादीको बढ्दो अनुचित प्रयोग कम गराउने, खाद्यन्न बाली उत्पादकलाई विषादीको नकारात्मक असरबारे जानकारी गराउने र सुरक्षित राख्ने, तरकारी तथा फलफूल उपभोक्ताको सुरक्षा गर्ने, किसानको अनावश्यक आर्थिक नोक्सानी हुन नदिने, विषादी प्रयोगकर्तालाई सबैको स्वास्थ्यप्रति संवेदनशील हुन सचेत गराउने, सुरक्षित विषादीको प्रयोगसम्बन्धी जनचेतना फैलाइ स्वस्थ बाली उत्पादनको सन्देश प्रवाह गर्नेलगायतका उद्देश्यसहित स्वास्थ्य कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
विषादीको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान नहुनु, जानकार किसान लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउविजनको बढी विश्वास गर्नु, सबै विषादीलाई मिसाएर प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनुलगायत कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको बताइन्छ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत उमाशंकर पौडेल र स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले सहजीकरण गर्नुभएको थियो भने रामग्राम–१ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय, कृषक बैजनाथ कोईरी लगायतले पनि बोल्नुभएको थियो ।
C1