२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा मालपोत र नापी कार्यालयले बैंकिङ्ग रोक्का तथा फुकुवा सेवा सञ्चालन गर्न पाउने

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) १६७४ पाठक संख्या

मोहन पौडेल
परासी, ६ असार । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा मालपोत तथा नापी कार्यालयबाट रोक्का तथा फुकुवा सेवा सुचारु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञाको समय बढाउँदै मालपोत तथा नापी कार्यालयबाट बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित रोक्का तथा फुकुवा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्धारा आज जारी विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधि अगाडी बढाउनका लागि मालपोत तथा नापी कार्यालयले कार्यालय प्रमुखको प्रत्यक्ष निगरानीमा न्यूनतम कर्मचारीबाट उक्त सेवाहरु असार ८ गतेदेखि सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।
गत सातादेखि केही खुकुलो बनाईएको निषेधाज्ञा सोही मोडालिटीमा निरन्तरता रहने गरी थप एक साता लम्बाईएको छ । कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेकोले असार सात गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाईएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो ।
थप गरिएको निषेधाज्ञा अवधिमा बैङ्क तथा बित्तीय संरुथाहरु दैनिक रुपमा बिहान दश बजेदेखि तीन बजेसम्म खोल्न दिने यसअघिकै निर्णयलाई निरन्तरता दिईएको छ । खाद्यन्न, तरकारी लगायत अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु बिहान पाँच बजेदेखि दिउँसो दुई बजेसम्म खुल्ने यसअघिकै निर्णय निरन्तरता दिईएको छ भने अन्य पसलहरु खोल्नका लागि उद्योग वाणिज्य संघलाई आफ्नो निगरानीमा पूर्वतयारी गर्न भनिएको छ । हाटबजार वा धेरै भीडभाड हुने गरी तरकारी लगायतका वस्तु बिक्री गर्न पाईनेछैन् ।
होटल तथा रेष्टुरेण्ट, सभा सम्मेलन, पार्टी लगायत धेरै भीडभाड हुने गतिविधिमा रोक लगाईएको छ । सरकारी कार्यालयको सेवा सुचारु गर्नका लागि पूर्व तयारी गर्न निर्देशन गरिएको छ । कार्यालय परिसर सरसफाइ गर्ने, सेवाग्राही बस्ने स्थानमा मार्किङ् गर्ने, साबुन पानीले हात धुने व्यवस्था तथा सेनिटाईजर र थर्मल गनको व्यवस्था गरी तयारी अवस्थामा रहन भनिएको छ भने अत्यावश्यक सेवाहरु न्यूनतम कर्मचारीको उपस्थितिमा आलोपालो प्रणालीबाट गर्न भनिएको छ ।
निषेधाज्ञाको अबधिमा अत्यावश्यक काममा बाहेक कोहीपनि घर बाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न भनिएको छ ।भारतसँग सीमा जोडिएका नाकाबाट आवातजावत पूर्णरूपमा बन्द गरिएको छ । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त निगरानी बढाइएको छ ।
जिल्लाको मुख्य सीमानाका महेशपुर भन्सारबाट प्रवेश गर्ने अत्यावश्यक वस्तु तथा कच्चापदार्थ ढुवानीका सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको जाँच गरी राति नौ बजेपछि मात्रै आवातजावत गर्ने व्यवस्था मिलाईएको प्रजिअ मिश्रले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवाका बाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ । विवाह तथा मृत्यु संस्कारमा पन्ध्र जनाभन्दा बढी सहभागी हुन नपाईने र स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत कामदारलाई सम्बन्धित उद्योग वा कार्यरत स्थलभित्र राख्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।
निषेधाज्ञाको उल्लङ्घन गर्ने तथा आदेशको पालना गर्ने क्रममा अबरोध गर्ने माथि सङ्क्रामक रोग ऐन २०२०,कोभिड १९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो । जिल्लामा गत बैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%६%३%३%

प्रतिक्रिया दिनुहोस