२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामको धरमपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) १२११ पाठक संख्या

परासी, ६ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ स्थित धरमपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भएको उक्त कार्यक्रममा ४५ प्रिन्ट रगत संकलन भएको छ ।
रामग्राम जेसीज परासी र पूर्वतारा युवा क्लब धरमपुरको संयुक्त आयोजना तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीको समन्वय र रक्त सञ्चार केन्द्र बुटवल शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील रामग्राम जेसीजले ग्रामीण क्षेत्रका युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्दै सामाजिक सेवामा अग्रसर बनाउने उद्देश्यले सदरमुकाम भन्दा बाहिर रक्तदान कार्यक्रमको आयोजना गरेको रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड संक्रमणका कारण धेरै मानिसहरुले रगतको अभावमा अकालमै ज्यान गुमाउनुपरेको तथा व्लड बैंकमा रगत अभाव भएको जानकारी पाएकोले गाउँबाट पनि सक्दो सहयोग गर्ने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको पूर्वतारा युवा क्लबका अध्यक्ष लेखु तामाङ्गले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ईट्टा उद्योग महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवं नवलपरासी अध्यक्ष धनपत यादवले ग्रामीण क्षेत्रमा रक्तदानको महत्वबारे सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । रगत दान गर्दा कमजोर भईन्छ भन्ने भ्रम र डरका कारण अझै पनि रक्तदानप्रति मानिसहरुको रुची बढ्न नसकेको उहाँले बताउनुभयो । यस किसिमका कार्यक्रमले युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भिष्म केसीले रगतको अभाव हुन नदिन आफूहरुले विगत ९९ महिनादेखि अभियान चलाईरहेको बताउनुभयो । उहाँले रक्तदानको विषयमा जनचेतना वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष चौधरी र पूर्वतारा युवा क्लबका अध्यक्ष तामाङ्गको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम १८ का कार्यबाहक वडाध्यक्ष शेरबहादुर थारु, रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य लगायतले रक्तदानको महत्वको बारेमा प्रकाश पार्नुभएको पूर्वतारा युवा क्लबका पूर्व अध्यक्ष दीपक कुमार गैरेले जानकारी दिनुभयो ।
कार्यक्रममा सो क्षेत्रका ४५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रामग्राम जेसीजका कार्यकारीणी उपाध्यक्ष अनिल कुमार उपाध्यायले जानकारी दिनुभयो । रामग्राम जेसीजका सदस्य दीपेश शर्माको आस्था पाठ, कार्यकारीणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक अनिल कुमार उपाध्यायको स्वागत तथा महासचिव मोहन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%३%

प्रतिक्रिया दिनुहोस