दीपक अधिकारी
हिमाल झैँ अटल हाम्रो देश,प्रकृतिको उपहार मेरो देश, कहिलै नडग्मगाएको मेरो देश । तर कहाँ बाट के भयो थाह छैन्, बोलेर सुन्ने कोही छैन्, सबै आफ्नो स्वार्थ बाहेक केही नसोच्ने भएर होकी । देश अस्तव्यस्त छ तर हामीलाई निराशा भएर टाढा भाग्ने छुट छैन् ।
अमेरिका,युरोप, अष्ट्रेलिया, क्यानाडा, जापान जाने सपना मात्रै देख्ने, नसकेको खण्डमा दुबई, कतार मलेसिया,आखिर कहिले सम्म ? देशको अवस्थाले हो कि बाध्यता हो या सपना सझाउने रहर,अभिभावकको गल्ती हो वा छोराछोरीको भविष्य निर्माणको खोजी । नेपाल बस्ने रहर र सपना बनाउने कहिले र कसले हो ? देशबाट दिनहुँ कल्कलाउँदा छोराछोरी विदेशिएको देख्दा एउटा कुरा लेख्न मन लाग्यो । वर्तमान समयमा हरेक आमा बुवाको मनमा उब्जाउन लागेको प्रश्न । हामीले त नेपाल कै गाउँ ठाउँलाई पहाड घर भन्न पाऔँ, यस्तै रहे हाम्रा सन्ततीले पहाड घर त नेपाल भन्ने छन् ।
यस्तो निराशै निराशामा कहिले सम्म रहने हामी । के परिवर्तन सम्भव छैन र? हामी प्रश्न गर्ने लायक छैनौं र ? के हामी यस्तै गरी टुलुटुलु हेर्न जन्मिएका हौ ? कहिलेसम्म यो वा त्यो, मेरो र तेरो पार्टी, मेरो मान्छे र तेरो मान्छे भन्दा भन्दै देशमा बेथिती बढेर गयो । सुशासनको सु पनि हराएर गयो, भ्रष्टाचार गर्नेहरुको बोली बिक्छ, न्याय माग्नेहरुको घाँटी सुक्छ, न्याय पाउनु पर्नेले सजाय पाउँछ, सजाय पाउनु पर्नेले फूलका मालाले स्वागत पाउँछ ।
नेताका नजिक माफिया हुन थाले, देश तिनै माफियाले चलाउन थाले, माफियाले चलाएको देशमा भविष्य नदेखेर कल्कलाउँदा युवाहरु विदेशिन बाध्य भए । यता हेरे पनि उस्तै छ, उता हेरे पनि उस्तै छ, यो हेरे पनि उस्तै छ, त्यो हेरे पनि उस्तै छ , जताततै निराशाको छाहारी छ । त्यति मात्रै होइन जताततै समस्या नै समस्याको भकारी छ । संसद भवनमा सांसदहरुको बैठक हेर्यो भने लाग्छकि संसद भवन होइन,झगडा भवन हो, कहिलेकाँही लाग्छ भोट दिएको आफ्नै हात नै काटिदिउँ । गाउँ घरमा बरु अल्लि राम्रोसंग झगडा गर्छन् तर हाम्रा संसाद मन्त्री असंसदीय भाषा प्रयोग गर्छन्, चिच्याउँछन्, कराउँछन् । कहिलेकाहीँ लाग्छ हात हालाहाल त हुने होइन् । यो देश जनताको पक्षमा भए त ठिकै छ तर हुने भनेको आफ्नो सरकार बनाउन, टिकाउन, मन्त्री बन्न, विदेशीको एजेन्डा पास गराउन ।
सरकार बनेर समस्याको भकारी खोल्दा खोल्दै सरकार परिवर्तन हुन्छ। अर्को सरकार बन्छ, अनि पुरानो सरकारलाई अदृश्य शक्तिले बनायो भन्दै कराउँछ, समस्याको भकारी रसी अल्लि बलियो रहेछ, खोल्दा खोल्दै हामीलाई सरकारबाट निकाल्ने काम भयो भन्छ । नयाँ सरकार उताबाट जवाफ फर्काउँछ, तिमिले अल्लि रसि धोल्लो बनाएका छौ हामी खोलेर हेर्छौ । खेलेर हेर्दा सरकारमा सहभागी सबै भकारी मै पर्ने जस्तो देख्छ र भन्छ हामी काम गर्न आएका हौँ,प्रतिपक्षले काम गर्नै दिएन् । यस्तो दोहोरी बाहेक के नयाँ देख्न पाईएको छ र ?
काण्डै काण्डको देश भनेर चिनिन थाल्यो । नियन्त्रण कसले गर्ने र कसलाई गर्ने ? एनजीओ र आईएनजियो मार्फत स्थानीय सरकार भ्रष्टाचारमा लिप्त छन् । काम र अधिकार नपाएर प्रदेश सरकार अस्तित्व र अधिकार पाउनु पर्ने भन्दै भट्याउँदै हिनेका छन् । संघीय सरकार धौ धौ १०० दिन कटाउँछ र कुन देशको चित्त बुज्दैन अनि कहिले ढल्ने हो भन्दै सरकार जोगाउँदै ठिक्क छ । कठै मेरो देश, कठै मेरो शासक वर्ग। हामी सबै यस्ता वेथितिलाई दर्शक झैँ हेरेर बस्यौं, संस्कार र सहनशीलतामा बस्यौं, परिवर्तन होला भनि धैर्यता मात्रै गरिरहेयौँ । कहिल्यै आफ्ना नेतालाई प्रश्न गर्न सकेनौ, आफ्नो नेतृत्वलाई खबरदारी गरेनौंँ, अन्धभक्त भयौंँ, ठिक के बेठीक के हो समयमै छुट्टयाइएको भए सायद आज यस्तो अवस्था आउदैँन थियोे होला ।
हामी भविष्यका कर्णधार मात्रै होइन वर्तमानका साझेदार पनि हौँ भन्ने कहिलै हेक्का राख्न सकेनौं । यो भन्दै गर्दा हामी यो अवस्थाबाट पन्छिन मिल्दैन्, टाढा भाग्न मिल्दैन् । देश बनाउने र नेतृत्व सच्याउने, खबरदारी गर्ने काम र जिम्मेवारी हाम्रो हो । बास्तवमा भावी पुस्ताले हामीलाई धिक्कार्ला,कस्ता जिउँदा लासहरु रहेछन् हाम्रा अग्रज, एउटा मात्र पनि अनुशरण गर्न लायक कुरा हस्तान्तरण गर्न सकेनन् भन्लान् । जसरी मैले, तपाईंले मेरो पहाड घर पाल्पा, स्याङ्जा, कास्की भनेझैं मेरा तपाईंका छोराछोरीले भोली मेरो पहाड घर नेपाल हो भन्ने दिन नआउला भन्न सकिन्न् ।
तसर्थ हामी सबै बेलैमा सचेत भएर उठनुछ, जाग्नुछ, लाग्नुछ, गलत गतिविधिको विरोध र सहि कार्यको वकालत गर्नुछ । मेरो र तेरो भन्ने भाव होइन्, साझा सद्भाव भावना जागृत गराउनुछ । वास्तवमा भन्ने हो भने हामी आजसम्म अर्थहिन राजनीतिको व्यर्थ जीवनमा रमाइलो मानिरहेका छौ । कुनै नेताको नजिक हुन पाउदैँमा।फोन गर्यो भन्दैमा कहिलेकाही आफ्नो उर्जाशिल जीवन, समय र धन खर्च गरेर पार्टीको काम गर्यो भनेर स्याबासी पाएकोमा नै मख्ख छौँ । हामीले त्यतिबेला आफूलाई भाग्यमानी र महान सम्झिएका हुन्छौं तर ती नेताले देश र जनतालाई कति मुर्ख बनाएका छन्,मलाई प्रयोग गरेको हो कि, मेरो भविष्य के हुने हो, मेरो परिवार के हुने हो, मेरो विगत के थियो वर्तमान के छ र भविष्य कस्तो हुने हो, विभिन्न अवसर आउँदा नेताले जनताका छोराछोरी लाई सम्झिन्छन् कि आफ्ना आसेपासेलाई सम्झिन्छन् ? यी र यस्ता कुराहरु कहिले सोचेनौं ।
त्यसैले उठौँ युवाहरु, साझा विचार लिएर । हात बाँधेर होइन मुटुबाट साहस र आँट झिक्नु पर्यो, अगाडि बढनुपर्यो अनि भन्नुपर्यो, हामी सक्छौँ परिवर्तन गर्न (we can change ) भन्नुपर्यो, लाग्नुपर्यो,जाग्नुपर्यो । कति दिन लाज सरणम भएर बाँच्ने हो। हामी अर्थहिन राजनीतिको व्यर्थ जीवनमा रमाइलो मान्नु भन्दा सोचलाई परिस्कृत र नविनत्म बनाएर हिजोको राजनीतिक सोच भन्दा माथि उठेर अगाडि बढ्दा पक्कै हामीले नसोचेको परिवर्तन छिट्टै देख्न पाईन्छ ।
त्यो पनि सपनामा होइन विपना अनि दिउसै । हामी यति सम्म अन्धभक्त भयौं कि आफ्ना पार्टीका मान्छेले भ्रष्टाचार गरेपनि, हत्या हिंसा गरेपनि, कानूनको पालना नगरेपनि, धम्कीपूर्ण व्यवहार गरेपनि, देशदोह्री कार्य गरेपनि, जनतालाई धोका दिएपनि समर्थनमा उफ्रिन्छौ । के यो सहि हो ? देश डुब्न लाग्यो भनि गालि गर्नेहरुका लागि म फेरि पनि भन्न चाहन्छु हामी कहाँ – कहाँ चुक्यौँ, कहाँ–कहाँ गल्ती गर्याैँ ? के गल्तीलाई गल्ती भन्न नसक्ने हँु त? के म नेतृत्वमा प्रश्न गर्नै नसक्ने हुँ त ? के यस्तै प्रवृत्ति सहन सके देश र जनताको सपना साकार हुन्छ त? एक पटक आफूलाई पनि प्रश्न गर्न अनुरोध गर्दछु ।
हामीलाई निराशा हुने छुट पक्कै छैन । हामीले गरेका गल्तीलाई निर्मम समिक्षा गरेर सोचमा परिवर्तन ल्याउन सके पुग्छ । भविष्यका कर्णधार मात्र होईन् देश परिवर्तनका लागि वर्तमानका साझेदार पनि हौ भन्ने कुरा बुझे पुग्छ । नेपाल बस्ने रहर र सपना बनाउने कहिले र कसले हो ? हामीलाई किन्तु परन्तु कुनै छुट छैन् । तपाई हाम्रा छोराछोरीले धिक्कार्ने छन् । भावि सन्ततिले धिकार्ने छ । कल्कलाउँदा युवा विदेशिन रोकिने छैनन ्र भन्ने छन मेरो पहाड घर नेपाल हो । नेतृत्व लाई गलतका विरुद्ध खबरदारी गरौँ, गलत प्रवृत्तिलाई प्रश्न गरौँ । हिमाल झै अटल हाम्रो देश, प्रकृतिको उपहार मेरो देश,कहिलै नडग्मगाएको मेरो देश । तर वर्तमान समयमा हामी कस्तो महशुस गरिरहेका छाँै,विचार गरौ । सम्पूर्ण पर्वले सबै नेपालीमा नविनत्म सोचाइहरुमा परिणत होस् । बस्ने ठाउँ नेपाल होस् र पहाड घर नेपाल होईन् नेपाल भित्रकै कुनै ठाउँको नाम होस् । सबैको मंगल होस्, हार्दिक मंगलमय शुभकामना सहित ।
लेखक ज्योति विकास बैंक घोराही शाखाका प्रबन्धक हुनुहुन्छ ।