२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

धार्मिक आस्थाको केन्द्र वैरिहवाको कोटहीमाई मन्दिर : पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

२०८० मंसिर ९, शनिबार प्रकाशित ( महिना अघि) ३१७ पाठक संख्या

मोहन पौडेल
परासी, ९ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ वैरिहवामा अवस्थित प्राचीन कोटहीमाई मन्दिर धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । मन्दिरको दर्शन र भाकल गरे मनोकामना पूरा हुने भन्दै भक्तजनको दिनहुँजसो भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।
मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा हुने र यो मन्दिरमा हात्ती चढाउने गरिएको स्थानीयवासी श्यामनारायण पासीले दैनिक ट्वान्टीफोर खबरलाई बताउनुभयो । मन्दिरप्रति आस्था र विश्वास रहेकोले दिनहुँजसो भक्तजनहरु आउने गरेको उहाँको भनाई छ ।

Ko3

मन्दिर कहिले बनेको हो भन्ने यथार्थ जानकारी नभएपनि वैरिहवाको कोटहीमाई मन्दिर, पाल्ही भगवती मन्दिर भन्दा पनि निकै पूरानो मानिन्छ । “यो मन्दिर पाल्ही मन्दिर भन्दा पनि धेरै पूरानो हो, यस ठाउँमा देवीको थान बनाईएको वा कँहीबाट ल्याईएको नभई आफै उत्पन्न भएको हो,मन्दिरप्रति भक्तजनको निकै विश्वास रहेको छ”, उहाँले भन्नुभयो ।
विगतमा यही मन्दिर अगाडिको गोरेटो बाटो भएर सदरमुकाम परासीदेखि भारतको बर्गदही बजार आउजाउ हुने गरेको तर परासी–महेशपुर सडक बनेपछि मन्दिर ओझेलमा परेको स्थानीय बताउँछन् । यस मन्दिरमा विशेषगरि रामनवमी र दशैँमा विशेष भीड लाग्ने गर्दछ । यहाँ नेपालसहित भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । मन्दिर क्षेत्रको चारैतिरबाट पर्खाल निर्माण गरि संरक्षण गर्न र यस क्षेत्रको सौन्दर्यकरण गर्दै व्यवस्थित रुपले विकास गर्नुपर्ने अवस्था रहेको पासी बताउनुहुन्छ ।
तत्कालीन समयमा यस ठाउँ ठूलो जंगलको बीचमा एउटा माटोले बनार्ईएको हात्तीको मूर्ति र देवी थानको रुपमा रहेको थियो । हाल भने यस स्थललाई व्यवस्थित बनाउन थालिएको छ । भक्तजनले आफ्नो मनोकामना पूरा भएको भन्दै खुशी भएर यहाँ आई हात्तीको मूर्ति चढाउने गरेको जीतपुर निवासी अर्जुन क्षेत्रीले बताउनुभयो ।
अहिले यहाँ प्रशस्त हात्तीको मूर्तिहरु देख्न सकिन्छ ।

Ko2

पाँच कठ्ठा क्षेत्रफल मन्दिरले ओगटेको छ । धार्मिक आस्था र विश्वासको केन्द्र बन्दै गएको कोटहीमाई मन्दिरलाई संरक्षण गरि उचित प्रचारप्रसार तथा विकास गर्न सकिए यो स्थल यस क्षेत्रकै धार्मिक पर्यटनको गनतव्य स्थल बन्न सक्ने सम्भावना रहेको क्षेत्रीले बताउनुभयो । मन्दिरसम्म आउजाउ गर्ने सडकलाई पनि स्तरोन्नती गर्नुपर्ने उहाँको भनाई छ ।
मन्दिरप्रतिको आस्था बढ्दै जानथालेपछि स्थानीय सरकारले यस स्थललाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरि कार्य अघि बढाएको छ । कोटहीमाई मन्दिरको संरक्षण गर्दै आवश्यक पूर्वाधार निर्माणको कामहरु अघि बढेको रामग्राम–४ का वडा अध्यक्ष मदन यादवले दैनिक ट्वान्टीफोर खबरलाइ जानकारी दिनुभयो । रामग्राम नगरपालिकाबाट गत वर्ष रु दश लाख बजेट विनियोजन गरि मन्दिरको वरपर पर्खाल निर्माण, शौचालय तथा हवन क्षेत्र निर्माण गरिएको छ भने यस वर्ष पनि रु दश लाख बजेट विनियोजन भएको र थप पूर्वाधारहरु निर्माण हुँदै जाने वडा अध्यक्ष यादवले बताउनुभयो ।
परासी–महेशपुर सडकबाट मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नतीका लागि समेत रु दश लाख बजेट विनियोजन भएको रामग्राम नगरपालिकाले जनाएको छ । मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरुयोजना(डिपीआर) समेत निर्माण भईसकेको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो । महत्वपूर्ण पूजापाठ स्थल,वनभोज स्थलसहित घुम्न लायक स्थलको रुपमा यस क्षेत्रको विकास गरिने उहाँले बताउनुभयो ।

प्रस्तावित गुरुयोजना

Ko5 Ko6 Ko7 Ko8 Ko9 Ko10 Ko11 Ko12 Ko4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस