२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

सरकारले अराजकतालाई प्रशय दियो,नियन्त्रण नगरे प्रतिकार गर्छाैँ : महेश बस्नेत

२०८० कार्तिक १९, आईतबार प्रकाशित (0 महिना अघि) २९९ पाठक संख्या

मोहन पौडेल
परासी, १९ कात्तिक । प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा अराजकता बढ्दै गएको तर सरकारले नियन्त्रण गर्न नसकेको दाबी गर्नुभएको छ । साम्राज्यवादीहरुको पैसा खाएर मुलुकको सदभाव,एकता,अखण्डता र धार्मिक सहिष्णुता विगारेर देशमा अराजकता मच्याउने व्यक्तिहरुलाई सरकारले कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रने उहाँले चेतावनी दिनुभयो ।
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई आज पश्चिम नवलपरासीको सुनवलमा सम्बोधन गर्दै नेता बस्नेतले अराजक तत्वलाई नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “मन्दिरको अगाडि चर्च बनाईएको छ, दिउँसै गाई काटिएको छ, हिन्दु धर्मको नाममा गेरु बस्त्र धारणा गरेर दिउँसै खुकरी बोकेर मान्छे मार्ने उर्दी जारी गरिन्छ,विदेशी पैसामा धार्मिक, जातीय पार्टी बनाउने,आङकाजी शेर्पा, हर्के,भीम उपाध्याय, दुर्गा प्रसाई जस्ता अराजक तत्वले अराकता मच्याउने तर प्रचण्ड सरकार कानमा तेल हालेर बस्ने, एमालेविरुद्ध उकास्ने,यो प्रवृत्तिका विरुद्ध हामी शसक्त ढंगले लाग्नेछौँ”
दुर्गा प्रसाई लगायतका गतिविधिको कडा आलोचना गर्दै नेता बस्नेतले सामाजिक सञ्जालको प्रयोग गरि अराजक तत्वहरुले एमाले अध्यक्ष केपी ओली माथी लगाएका निराधार आरोपको पुष्टि गरेर देखाउन चुनौती दिनुभयो । एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले यो मुलुकको विकास र समृद्ध बनाउने सक्ने एकमात्र पार्टी एमाले मात्र भएको जिकिर गर्दै देश बनाउन नचाहने तत्वले एमाले विरुद्ध चौतर्फी प्रहार भएको बताउनुभयो ।
“यो मुलुकको परिवर्तन हामीले गर्ने हो,केपी ओलीको पालामा हामीले विकासको आँधीबेहरी ल्याएका थियौँ,अर्थतन्त्रमा आमूल परिवर्तन,विकासको लहर ल्याएका थियौँ,मनमोहन अधिकारीको पालामा आफ्नो गाउँ आफै बनाऔँ, ज्येष्ठ नागरिक भत्ता जस्ता लोकप्रिय कार्यक्रम हामीले नै ल्याएका हौँ”, उहाँले भन्नुभयो । राष्ट्रिय युवा संघका ईन्चार्ज समेत रहनुभएका नेता बस्नेतलाई उच्च मनोबलका साथ काम गर्न र उत्पादनमूलक एवं रचनात्मक काम गरि अब्बल बन्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले दक्ष युवाहरुलाई देशमै टिक्न सक्ने वातावरण बनाउन माग गर्नुभयो । युवा संघ अब गुणस्तरीय दक्ष युवा उत्पादनको अभियानमा लागेको उहाँले बताउनुभयो । हरेक जातजाती, कला संस्कृतिसँग जोडिएर युवा संघ अगाडी बढ्ने बताउँदै अध्यक्ष थेवेले समृद्ध नेपालको भिजन भएको र देशलाई बचाउन सक्ने भिजन भएको एक मात्र पार्टी एमाले मात्र भएकोले अहिले झुण्डहरुको समूहले एमालेमाथी प्रहार गर्ने, एमालेका नेताहरुमाथि व्यक्तिगत रुपमा प्रहार गरेर कमजोर बनाउन खोज्नेहरु सक्रिय रहेकोले युवा संघका सदस्यहरुले निर्भिकताका साथ प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका संयोजक पृत्तम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामा, महासचिव सुमन पुरी, प्रदेश सहसंयोजक सुरज खरेल लगायतले सम्बोधन गर्नुभएको युवा संघका लुम्बिनी प्रदेश सदस्य गंगा पाठकले बताउनुभयो ।
अधिवेशनमा लुम्बिनी प्रदेशका १०९ पालिकाबाट ३१८ जना प्रतिनिधि सहभागि छन् । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस