२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

सुशासन र पादरर्शीतामा सुनवल : कार्यपालिका बैठकको निर्णय र ५० हजार बढीको बिल अब वेभसाईटमा

२०८० भाद्र ६, बुधबार प्रकाशित ( साल अघि) १८८ पाठक संख्या

मोहन पौडेल
परासी, ६ भदौ । सुशासन र पादरर्शीता कायम राख्न पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्न थालेको छ । नगरपालिकाले आफ्नो वेभसाईट मार्फत नगर कार्यपालिकाका बैठकहरु सार्वजनिक गर्न शुरु गरेको हो ।
नयाँ आर्थिक वर्ष २०८०÷०८१ को शुरुवातसँगै कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्न शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दैनिक24 खबरलाई जानकारी दिनुभयो । त्यसको शुरुवात नगरपालिकाले आजैबाट गरेको छ । “साउन महिनामा बसेको कार्यपालिकाको बैठकको निर्णय वेभसाईट मार्फत सार्वजनिक गरिएको छ, अव आगामी बैठकका निर्णयहरु बैठक सम्पन्न भएको २४ घण्टा भित्रै वेभसाईटमार्फत आम जनतालाई जानकारी गराईन्छ”, उहाँले भन्नुभयो ।
नगरका कामहरु पारदर्शी बनाउने नगर प्रमुख बिमला अर्यालको प्रमुख एजेन्डालाई कार्यान्वयन गर्दै नगरवासीले प्रष्ट जानकारी पाउने गरि निर्णयहरु सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्दा सबै नगरवासीले थाहा पाउने र कार्यपालिका सदस्यहरु पनि बढी जिम्मेवार बन्ने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो । यसले नगरवासीले सूचना पाउने अधिकारको पनि सुनिश्चितता गरेको उहाँको भनाई छ ।
यस्तै सुनवल नगरपालिकाले आर्थिक सुशासन र पारदर्शीतालाई पनि कडाई साथ कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले अब पचास हजार भन्दा माथिको रकम भुक्तानी गर्दा आन्तरिक लेखा परीक्षणपछि मात्र भुक्तानी गर्नेछ भने पचास हजार भन्दा माथिका भ्याट बिल पनि वेभसाईटमार्फत सरोकारवालाहरुलाई जानकारीका लागि सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिनुभयो । वेरुजु घटाउन र थप आर्थिक पारदर्शीता कायम गर्न यस किसिमको निर्णय कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । सुनवल नगरपालिकाको विगतको बेरुजु २४ करोड रुपैँया भन्दा बढी रहेकोले बेरुजु घटाउन पनि यस निर्णयले टेवा पुग्ने उहाँको भनाई छ ।
गत साउन ४ गतेको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार नै नगरपालिकाले आर्थिक सुशासन र पारदर्शीतालाई महत्वका साथ कार्यान्वयनमा अघि बढेको नगर प्रमुख बिमला अर्यालले बताउनुभयो । जनताले तिरेको करको सही सदुपयोग तथा जवाफदेही र पारदर्शीता प्रवद्र्धन गर्न खर्चको एकरुपताका लागि मापदण्ड समेत बनाईएको नगर प्रमुख अर्यालले उल्लेख गर्नुभयो । सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन कार्यसम्पादन गरेर अघि बढ्ने निर्णय समेत भएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस