२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

परासी क्षेत्रमै पहिलो पिस पार्क सञ्चालन

२०८० श्रावण १, सोमबार प्रकाशित ( साल अघि) २०२५ पाठक संख्या

मोहन पौडेल/दैनिक24 खबर
परासी, १ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.८ स्थित उनवछमा आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले आजदेखि पिस पार्क सञ्चालनमा ल्याईएको छ । सदरमुकाम परासी बजारबाट नजिकै रहेको उक्त पार्क रामग्राम नगरपालिका वडा नं. ८ वडा कार्यालय र पिस क्लव ईण्टरनेशनल परासीको पहलमा निर्माण गरिएको हो ।
परासी क्षेत्रमा पार्कको अभाव खड्किरहेका बेला निमावि लोहसडाले वृक्षारोपण गरेको स्थानमा पार्क सञ्चालन गरिएको हो । साउने संक्रान्तिको अवसर पारेर आजदेखि सञ्चालनमा आएको पिस पार्कको आज एक कार्यक्रमबीच वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरले शुभारम्भ गर्नुभएको हो । रामग्राम नगरपालिका भित्र एउटा पनि पार्क नभएको अवस्थामा आफ्नो वडामा पार्क सञ्चालन गर्न सफल भएको बताउँदै वडा अध्यक्ष ठाकुरले यस पार्कलाई नगरकै नमूना पार्कको रुपमा स्थापित गरिने बताउनुभयो ।
हाललाई आधारभूत पूर्वाधार मात्र रहेकोले आगामी दिनमा गुरुयोजना नै बनाएर आवश्यक पर्यटकीय पूर्वाधारहरु निर्माण गर्दै जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, यो करिब ढाई विघा क्षेत्रफलमा फैलिएको छ, रुख विरुवा हुर्किसकेका छन्, यहाँ शौचालय र खानेपानीको व्यवस्था गरि पिकनिक स्पटको रुपमा हाललाई सञ्चालन गर्छाैँ, हाम्रो योजना ठूलो छ, यहाँदेखि रामग्राम स्तुपसम्म झरही नदीमा ड्याम निर्माण गरि स्टीमर सञ्चालन गर्न सकेमा यस क्षेत्रमै उ्रत्कृष्ट गनतव्य स्थलको रुपमा यो पार्क विकास हुनेछ
वडाको तर्फबाट बजेट विनियोजन गरि हाललाई सामान्य पूर्वाधारसहित पार्क सञ्चालनमा ल्याईएको र आगामी दिनमा नगरपालिका, प्रदेश र संघीय सरकारसँग पहल गरेर आवश्यक बजेट ल्याई पूर्वाधारहरु निर्माण गर्ने वडा अध्यक्ष ठाकुरले बताउनुभयो । पार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी भने पिस क्लव ईण्टरनेशनल नवलपरासीले पाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पार्क नै नभएको अवस्थामा यो पार्क यस क्षेत्रकै आकर्षणको केन्द्रको रुपमा स्थापित हुने विश्वास गरिएको पिस क्लवका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले बताउनुभयो । परासी क्षेत्रमा शान्त वातावरणमा केही समय विताउने उपयुक्त स्थान नभएकोले पनि यो पार्क बालबालिकादेखि बृद्धाबृद्धसम्मको गनतव्य स्थल बन्ने उहाँले बताउनुभयो । उहाँले यो पार्कमा वडाको बजेटले मात्र पर्यटकीय पूर्वाधारहरु निर्माण गर्न सम्भव नहुने भएकोले नगरपालिकाले अपनत्व लिएर यसको विकास गर्नुपर्ने बताउँदै अन्य सहयोगी मनहरुलाई पनि यस पार्कमा लगानी गर्न आह्वान गर्नुभयो ।
नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारले नगर भित्र कुनै पार्क नभएको अवस्थामा वडाको पहलमा पार्क सञ्चालनमा आउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले यस पार्कलाई व्यवस्थित रुपमा निर्माण सम्पन्न गरि यस क्षेत्रकै नमूना गनतव्य स्थल बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । शान्त, मनोरम वातावरण र पर्यावरणीय हिसावले पनि पार्क निकै सुन्दर रहेको बताउँदै उहाँले अन्य आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन जोड दिनुभयो ।
दौडधुप र व्यस्तताकोबीच केही समय यहाँ बिताएर शान्तिको अनूभूति गर्न सकिने भएकोले पनि पिस पार्क नामाकरण गरिएको पिस क्लवका महासचिव बेचु गौडले जानकारी दिनुभयो । उहाँले विस्तारै यस पार्कलाई मिनि लाईब्रेरिको रुपमा विकास गर्दै सातै पालिकासँग जोडेर लैजाने सोच बनाईएको बताउनुभयो । लोहसडा निमाविसँग २५ वर्षको सम्झौता गरेर वार्षिक रु एक लाख भाडा दिने गरी पार्क सञ्चालन गरिएकोले विद्यालयको पनि आम्दानीको स्रोत थपिएको उहाँले बताउनुभयो ।
रामग्राम नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नगेन्द्र यादवले पिस पार्क, बसपार्क र रामग्राम स्तुप लिंकअप गर्दै अगाडि बढ्दा नगरको दक्षिणी क्षेत्रको विकासले पनि फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । पिस क्लवका कोषाध्यक्ष चन्द्रप्रकाश गुप्तले पिस पार्क नगरकै गहना रुपमा विकास गर्नुपर्ने बताउनुभयो । परासी नारायणचोक हुलाकी सडकबाट करिब एक किलोमिटर दक्षिणतर्फ उनवछ गाउँमा रहेको पिस पार्कको पहिलो चरणको काम सम्पन्न भई सञ्चालनमा आएको हो ।

P2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%९%२%१%

प्रतिक्रिया दिनुहोस