२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावल बन्यो जिल्लाको पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका

२०८० जेष्ठ १७, बुधबार प्रकाशित ( साल अघि) १६७२ पाठक संख्या

मोहन पौडेल
परासी, १७ जेठपश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पन्ध्र महिनासम्मका बालबालिकालाई लगाउनुपर्ने पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
आज सरावलमा आयोजित घोषणा समारोहमा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष भगौती यादवले सरावललाई यश वर्ष जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उहाँले यो अभियानलाई  निरन्तरता दिन र आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न जोड दिनुभयो ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख यादवले गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले पूर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने सम्पूर्ण महिला स्वास्थ्य स्वयम्सेविका तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै  जिल्लाको समय तालिका अनुसार खोपको मात्रा पुर्याईसकेपछि मात्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको बताउनुभयो ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि  तोकिएको सूचक पूरा गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार पालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको स्वास्थ्य शाखाका प्रमुख ओम नारायण देवकोटाले बताउनुभयो । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि पालिकाबाट
प्रत्येक घरधुरीमा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका परिचालन गरि पालिका भित्रका सातै वडाका ५५ वटा टोलहरुमा गत चैत महिनामा गरिएको घरधुरी सर्वेक्षण मार्फत भेटिएका १६ देखि ५९ महिनाका दुई हजार ५४२ बालबालिकाहरु मध्ये १४ जना बालबालिका पूर्ण खोप नलगाएको पाईएकोले ती बालबालिकालाई चैत र वैशाख महिनामा खोज र खोप अभियान अन्तरगत पूर्ण मात्रामा खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले बताउनुभयो ।
सरावल गाउँपालिकाले नियमित खोप कार्यक्रम र पूर्ण खोप दिगोपनालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ । गाउँपालिका अन्तर्गत २७ वटा खोप क्लिनिकहरु मार्फत मासिक रुपमा नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन,महिला तथा बालबालिका शाखा प्रमुख खेम खनाल, महिला स्वास्थ्य स्वयमसेविका सीता शर्मा घिमिरे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियोे । उक्त अवसरमा महिला स्वास्थ्य स्वयमसेविकम,खोप कार्यकर्ता,स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस