२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

आदर्श नमूना माविले कक्षा ११ मा विज्ञान संकाय सञ्चालन गर्दै, सरोकारवाला भन्छन्-हामी सहयोग गर्छाैँ

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

मोहन पौडेल
परासी, १० चैत । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको आदर्श नमुना माविले कक्षा ११ मा विज्ञान संकाय सञ्चालन गर्ने भएको छ । नमूना विद्यालयको रुपमा रहेको यस माविले आउँदै गरेको नयाँ शैक्षिक सत्रबाट विज्ञान संकायको अध्यापन शुरु गर्न लागेको हो ।
विज्ञान संकाय सञ्चालन गर्नु पूर्व विद्यालयले आज यस क्षेत्रका सरोकार पक्षहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विद्यार्थीको माग र आवश्यकतालाई मध्यनजर गर्दै यस क्षेत्रमै पहिलो पटक प्लस टु तर्फ विज्ञान संकाय सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले दैनिक खबरलाई जानकारी दिनुभयो ।
यस विद्यालयमा यसअघि कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र कानून संकाय अध्यापन हुँदै आएको छ । विद्यालयले विज्ञान संकायको कक्षा सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार तथा हाल रहेको विज्ञान प्रयोगशालालाई स्तरोन्नती गरी अत्याधुनिक बनाउने लागिरहेको उहाँले बताउनुभयो । विज्ञान प्रयोगशाला स्तरोन्नती गर्न ठूलो बजेट आवश्यक भएकोले स्थानीय,प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा गरेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धताका साथ आगामी शैक्षिक सत्र २०८०÷०८१ साउनदेखि विज्ञान संकायको अध्यापन शुरु गर्न लागिएको विद्यावलय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल अग्रहरीले बताउनुभयो । नमूना विद्यालय विकास कार्यक्रमको अवधारणा अनुसार पनि विज्ञान संकाय सञ्चालन गर्नुपर्ने नेपाल सरकारले मापदण्ड तोकेको छ । विज्ञान संकाय अध्ययन गर्न अन्यत्र गएर मर्हगो खर्चमाा पढ्नुपर्ने बाध्यताबाट अव यस क्षेत्रका विद्यार्थी मुक्त हुने विद्यालयको दाबी छ ।
विद्यालयले गरेको छलफल कार्यक्रममा सहभागिहरुले रामग्राम क्षेत्रमा कुनै पनि विद्यालयमा विज्ञान संकाय सञ्चालन नरहेकोले आदर्श नमूना माविले सञ्चालन गर्ने विज्ञान संकाय सफल पार्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य धु्रबबहादुर प्रधानले विज्ञान संकाय सञ्चालनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीन तहका सरकारसँग समन्वय गरेर आवश्यक सहयोग जुटाउन तथा परिआएमा व्यक्तिगत रुपमा पनि सहयोग गर्न तयार रहेको सांसद प्रधानले बताउनुभयो । उहाँले यस क्षेत्रका विद्यार्थी पढाईको लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न र यस क्षेत्रको शैक्षिक स्तर सुधार गर्न सबै पक्ष एकठाउँमा बसेर योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख विष्णु प्रसाद ज्ञवाली, परासी क्याम्पसका प्रमुख सुमनगोपाल आचार्य, पाल्हीनन्दन ४ का वडा अध्यक्ष रबीन्द्र सहानी लगायतले विज्ञान संकाय सञ्चालनमा आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । यसैबीच उक्त विद्यालयमा सञ्चालन हुने विज्ञान संकायमा अध्ययरत जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न विद्यालयका पूर्व विज्ञान शिक्षक राजेन्द्र पटेलले आफ्नी स्वर्गीय धर्मपत्नीको स्मृत्तिमा रु एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको विद्यालयकी सहायक प्रधानाध्यापक अरुणा पटेलले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस