मोहन पौडेल
परासी, २२ कात्तिक । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपमा एक हजार दीपप्रज्वलन गरी कात्तिक पूर्णिमा उत्सव मनाईएको छ । पश्चिम नवलपरासीको रामग्राम ७ स्थित रामग्राम स्तुपमा कात्तिक पूर्णिमाको अवसरमा आज साँझ एक हजार बत्ति बालेर स्तुपको प्रवद्र्धनका साथै विश्व शान्तिको कामना गरिएको हो ।
पिस क्लव ईण्टरनेशनल नवलपरासीको आयोजनामा हजार दीप प्रज्वलन तथा प्रार्थना गरिएको थियो । बुद्धग्रन्थममा कात्तिक पूर्णिमालाई विशेष रुपमा लिने भएकोले बुद्धको अस्तिधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्तुप रामग्राम स्तुपमा एक हजार बत्ति बालेर प्राथना समेत गरिएको पिस क्लव ईण्टरनेशनलका अध्यक्ष शम्भु उपाध्यायले दैनिक24 खवरलाई जानकारी दिनुभयो ।
रामग्राम स्तुपमा पहिलोपटक हजार बत्ति बालेर कात्तिक पूर्णिमा उत्सव मनाउन थालिएको बताउँदै उहाँले आगामी वर्षदेखि मेलासहित उत्सव मनाउने बताउनुभयो । उक्त अवसरमा क्लवका महासचिव बेचु गौडले बुद्धग्रन्थमा कात्तिक पूर्णिमाको महत्व र स्तुपको विशेषताको विषयमा प्रकाश पार्नुभएको थियो ।
पश्चिम नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी एक ऐतिहासिक स्थल भएपनि बुद्धत्व प्राप्ती पछि बुद्ध भएको र बुद्धको भौतिक अस्तु रहेको एक मात्र रामग्राम स्तुप हो । कोलीय गणराज्यको रूपमा रामग्राम स्तुप रहेको र यसको राजधानी नवलपरासीकै पण्डीतपुरमा रहेको यसअघि भएका उत्खनन्बाट प्रमाणीत भएको छ । धार्मिक, पुरातात्विक एवं एतिहासिक दृष्टिकोणले महत्वपूर्ण यस स्थलमा विगत धेरै वर्षदेखि विदेशी तथा नेपाली बौद्ध धर्मावलम्बीले निमितम् पूजा गर्ने, धूप दीप बाल्ने, प्राथना तथा भजन गाउने गर्ने गरेका छन् ।
बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण (इ.पू. ४८३) पछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि बुद्धको अस्थिधातुलाई आठ भाग लगाइएको थियो । बुद्धको अस्तु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो ।
सोही अस्थिधातु निदान गरी आ–आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर यसरी अस्थिहरू विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।
८४ हजार स्तूप बनाउने अभियानका क्रममा सम्राट अशोक (तेस्रो शताब्दी इसापूर्व) भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातुहरू संकलन गर्न हिंडेका थिए । तर रामग्राम स्तूपको संरक्षण गरेर बसिरहेका नागहरूले अस्थिधातु झिक्न नदिएको प्रसङ्ग पनि सोही वंशावलीमा उल्लेख पाइन्छ । यसलाई त्यस वेला रामग्राम रहेको भूभाग मौर्य साम्राज्य अन्तर्गत नरहेको भनी अर्थ्याउन सकिन्छ । त्यसै सम्राट अशोकले सबै राज्यको अस्तु संकलन गरे हात्तीले संरक्षण गरेर राखेकाले रामग्रामको लिन सकेनन् ।
तत्कालीन राजा गौतम बुद्धका ससुरा दण्डपाणीले बुद्धको परिनिर्वाणपछि अस्तिुधातु ल्याई स्तुपमा राखी यो स्तुप निमार्ण गरेको भनाइ पनि उल्लेख भएको पाइन्छ । सम्राट अशोकले सबै अस्थिधातु एकत्रगरी राख्ने योजना बनाएको भन्ने भनाइ पनि पाइन्छ । यस रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरूले बताएका छन् ।
झरही खोलाको किनारमा समतल मैदानमा देखिने हरियो थुम्को आकर्षक छ । रामग्रामको संरक्षण र विकास गर्नसकेमा लुम्बिनी जस्तै रामग्राम पनि एउटा अन्तर्र्रािष्ट्रय महत्वको बौद्ध तीर्थस्थल बन्ने विश्वास गरिएको छ । सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडक ३ कि.मी. पार गरेर उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ हिँडेपछि झरही खोलाको किनारमा समतल मैदानमा रामग्राम स्तुप रहेको थुम्को देखिन्छ ।