२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

राजेश चौधरी अध्यक्ष रहेको गैरसरकारी संस्थाले पशुपति शिक्षा मन्दिर फेनहराको नयाँ भवन बनाउँदै

२०७८ भाद्र ३, बिहिबार प्रकाशित ( साल अघि) ९४३ पाठक संख्या

मोहन पौडेल
परासी, ३ भदौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका युवा समाजसेवी एवं कम्युनिटी ईम्प्याक्ट नेपालका अध्यक्ष राजेश चौधरीको पहलमा सुस्ता गाउँपालिकाको एक विद्यालयको नयाँ भवन बन्ने भएको छ । सुस्ता—३ फेनहरा सेखुवानीस्थित पशुपति शिक्षा मन्दिरको नयाँ विद्यालय भवन बन्न लागेको हो ।
नयाँ बन्ने विद्यालय भवनको आज एक समारोहकाबीच सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र कम्युनिटी ईम्प्याक्ट नेपालका अध्यक्ष राजेश चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । हालको विद्यालय भवन जीर्ण अवस्थामा रहेको तर राज्यको ध्यान नगएकोले विद्यालयका लागि आफ्नो संस्थाको पूर्ण लगानीमा आधुनिक भवन बनाउन पहल गरेको कम्युनिटी ईम्प्याक्ट नेपालका अध्यक्ष चौधरीले बताउनुभयो ।
हुलाकी सडकको छेउमै रहेको उक्त विद्यालयमा २०७४ सालमा आएको बाढीले क्षति पुर्याएको थियो । विद्यालय भवन जीर्ण बन्नुका साथै खानेपानी लगायत आधारभूत आवश्यकताको अभाव देखेकोले आफ्नो संस्थाले विद्यालयका लागि नयाँ भवन बनाउन लागेको उहाँले बताउनुभयो । उक्त संस्थाले सात कोठे भवन र तीन वटा शौचालाय सहितको नयाँ प्रविधि र वातावरणमैत्री प्रविधि प्रयोग गरी भवन बनाउने उहाँले बताउनुभयो । रोटरी मिड टाउनको समेत सहकार्य रहेको उक्त नयाँ भवनको लागत रु ६० लाख अनुमान गरिएको छ ।
जसपा नेपालका स्थानीय युवा नेता समेत रहेका चौधरीले आफ्नो गाउँसमाजको विकासका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ आफू समाजसेवा र राजनीतिमा लागेको बताउनुभयो । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बाढीका कारण क्षति पुगेको यस विद्यालयमा गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान दिने बताउनुभयो ।
विगतमा बाढीपछि गाउँपालिकाबाट सहयोग गरेर मर्मत सम्भार गरेको तर चाहाँदा चाहँदै पनि विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रयाप्त सहयोग गर्न नसकेको बताउनुभयो । अब कम्युनिटी ईम्प्याक्ट नेपालले विद्यालय भवन बनाउने र गाउँपालिकाले माटो फिलिङ र चारैतिर तारबार गर्ने काम गर्ने बताउनुभयो ।
पूर्वाधार निर्माणपछि गुणस्तरीय शिक्षाका लागि पहल गर्ने बताउँदै उहाँले आगामी दिनमा गाउँपालिकाबाट हुने सबै सहयोग गर्ने बताउनुभयो । कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा बाढी र हुरी बतासका कारण विद्यालय भवन जीर्ण हुँदा अध्ययन अध्यापन कार्यमा समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्यारे प्रजापतिले बताउनुभयो । भवन जीर्ण भएकै कारण विद्यार्थीहरु समेत अन्यत्र गएपछि विद्यार्थी संख्यासमेत उक्त विद्यालयमा न्युन छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमचन्द चौधरीले विद्यालयलाई अब नमूना बनाउने अभियानमा लागेको बताउनुभयो । यो अभियानमा सहयोग गरेकोमा समाजसेवी राजेश चौधरीलाई उहाँले धन्यवाद दिनुभयो । विद्यालयकी संस्थापक अध्यक्ष देवकी रेग्मीले विद्यालयको शैक्षिक, भौतिक विकासका लागि सबेको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस