२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परम्परागत मान्यता तोडेर आमाको किरीया गर्दै दुई छोरी

२०७८ श्रावण २०, बुधबार प्रकाशित ( साल अघि) २१६९ पाठक संख्या

मोहन पौडेल
परासी, २० साउन । छोराले मात्रै किरीया गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै परिवर्तन हुँदै गएको छ । पछिल्लो समय छोरीहरु पनि आफ्ना बुबाआमाको किरीया गर्ने तथा मृत्यु संस्कारमा सहभागि हुन थालेका छन् ।
परम्परागत सामाजिक मान्यतालाइृ तोड्दै सकरात्मक सन्देश दिन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा अहिले दुई जना किशोरीले आफ्नी आमाको किरीया गरिरहेका छन् । जिल्लाको सुनवल नगरपालिका—१३ स्थित सुर्यबस्तीका १६ वर्षीय अञ्जली र १४ वर्षीय अञ्जु सुनारले आफ्नी आमा स्वर्गीय तिलीसरा राना सुनारको किरीया गरिरहनुभएको छ ।
क्यान्सरबाट पीडित ३५ वर्षीय रानाको गत साउन ११ गते उपचारको क्रममा निधन भएको थियो । रानाको निधन पछि छोरा किरीया बस्नुपर्ने भएपनि छोरा अतित तीन वर्षको मात्र भएकोले दुई छोरीहरु आफैले आमाको काजकिरीया गरेको बुबा लीलबहादुर सुनारले बताउनुभयो । लीलबहादुर र तिलीसराको २०६१ मा अन्तरजातीय विवाह भएको थियो ।
किरीया मात्र होईन् आमाको दागबत्ती पनि दुई छोरीले दिएका थिए । अञ्जली र अञ्जु सुनवलको महाकवि देवकोटा माविमा क्रमशः कक्षा दश र नौ मा अध्ययनरत छन् । आमाले आफूहरुलाई छोराछोरी भनी कुनै विभेद नगरेको र आमाको त्यागलाई सम्मान गर्दे आफै किरीयामा बस्ने निर्णय गरेको जेठी छोरी अञ्जलीले बताउनुभयो ।
“छोराहरुले गर्ने काम हामीले पनि गर्न सक्छौँ, परम्परागत मान्यतालाई सुधार गर्दे जानु पनि हाम्रो कर्तव्य हो”, उहाँले भन्नुभयो । समाज र छरछिमेकबाट घर बाहिरका अन्य दाजुभाईलाई किरीयामा बसाल्नुपर्छ भन्ने आवाज आएपनि छोरीहरु आफैले गर्ने निर्णयको सबैले स्वीकार गरेको माईली छोरी अञ्जुले बताउनुभयो ।
२१ औँ शताब्दीमा पनि छोरीहरुले किरीया गर्दा अझै अस्वभाविक ठानिुन गलत भएको उनीहरुको भनाई छ । सेतो बस्त्र लगाएर कोरा भित्र बसिरहेका दुई छोरीले चलिआएको सामाजिक मान्यताको विपरीत जाँदा समाजले केही असहज मान्नु स्वभाविक भएपनि आफूहरुलाई कुनै अफ्ठयारो भने नलागेको बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%१३%१%१२%

प्रतिक्रिया दिनुहोस