२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बर्दघाटको पहाडी क्षेत्र बाँसखोला र संसारकोटमा पहिलोपटक विद्युतीकरण, स्थानीयवासी हर्षित

२०७८ अषाढ २७, आईतबार प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

मोहन पौडेल
परासी, २७ असारः नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलो पटक विद्युतीकरण पुगेको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयबासीमा खुशीयाली छाएको छ ।
बर्दघाट—२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिनुभयो । यसअघि यहाँका बासिन्दा टुकीको भरमा जीवन बिताईरहेका थिए । विद्युतिकरणको लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभाारम्भ गर्नुभएको थियो ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रम अन्र्तगत विनियोजित बजेट र बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युतको पहुँच पुगेको नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट रु ८५ लाख ९१ हजार २०३ र नगरपालिकाको नौ लाख ७८हजार ७४६ रुपैँयाको लागतमा विद्युतीकरण गरी बाँसखोलाका ४४ मध्ये हाल ३० घर र संसारकोटका सात घरमा शनिबारदेखि बिजुली बालिएको उहाँले बताउनुभयो । उनीहरुलाई बिजुली मिटर पनि निःशुल्क जडान गरिएको छ ।
प्राधिकरणका अनुसार संसारकोटमा ३.२ किलोमिटर एचटी लाईन निर्माण गरी ७५ थान फलामको पोल प्रयोग गरिएको छ भने एलटी लाईन ०.७५ किलोमिटर निर्माण गर्न पन्ध्र थान फलामको पोल निर्माण गरिएको छ । बाँसखोलामा तीन किलोमिटर एचटी लाईन निर्माण गरी ७३ थान सिमेन्टको पोल प्रयोग गरिएको छ भने एलटी लाईन १.१ किलोमिटर निर्माण गरी बीस थान सिमेन्टको पोल प्रयोग गरिएको छ ।
यस स्थानमा विद्युतिकरणका लािग आवश्यक ट्रान्सफरमर लगायत लाईन निर्माणका लागि आवश्यक सामग्रीका लागि नपुग रकम बर्दघाट नगरपालिकाले उपलब्ध गराएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
विद्युतीकरणपछि गाउँमा खुशीयाली छाएको स्थानीयवासी देवान गुरुङ्गले बताउनुभये । यसअघि पहाडी क्षेत्रका आम्बास, सुखौरा, धुरकोट फेदीमा केही वर्षअघि बिजुलीको पहुँच पुगेको थियो भने अब पटुके, बिहारी लगायतका वस्तीमा विद्युतिकरणको सेवा पुग्न बाँकी रहेको उहाँले बताउनुभयो ।रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस