२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पर्यापर्यटन र बुद्धकालीन सभ्याता संरक्षणका लागि बुद्धमङ्गल तालको बीचमा ठूलो बुद्धमूर्ति निर्माण

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) १११६ पाठक संख्या

मोहन पौडेल
परासी, २४ असार – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल तालको थप आकर्षण बढाउन तालको बीचमा बुद्धको ठूलो मूर्ति निर्माण गरिएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी यहाँको विकास अघि बढाईएको हो ।
भगवान् गौतब बुद्धसँग जोडिएको यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यापर्यटन प्रवद्र्धन गर्ने गरी यहाँको विकास, संरक्षण तथा प्रवद्र्धन थालिएको बर्दघाट नगरपालिकाले जनाएको छ ।
बर्दघाट नगरपालिका—१२ मा अवस्थित यस ताल भगवान् गौतमबुद्धसँग जोडिएकोले यहाँको ऐतिहासिकता र पर्यापर्यटन विकासका लागि काम भईरहेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्यको सम्भावना रहेको यस क्षेत्रमा अहिले तालको बीचमा बुद्धको ठूलो मूर्ति निर्माण गरिएको हो ।
उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रलाई पर्यटनको केन्द्रको रुपमा स्थापित गर्न, बुद्धकालीन ऐतिहासिकतालाई जोड्न र बुद्ध परिपथमा समावेश गर्ने आधार निर्माणका लागि पनि तालको बीचमा बुद्धको मूर्ति निर्माण गरिएको नगर प्रमुख बस्यालले बताउनुभयो ।
बुद्धकालीन सभ्यतालाई झल्काउने गरी तालको बीचमा बुद्धको मूर्ति राखिएको कमै स्थान रहेकोले पनि यसको विशेष महत्व रहेको उहाँको भनाई छ । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा अहिले यहाँ तालको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार निर्माण भईरहेका छन् । सौन्दर्यीकरणपछि अहिले ताल सुन्दर देखिएको छ । बुद्धको मूर्तिले तालको आकर्षण थप बढाएको छ ।
वरिष्ठ कलाकार बिके नरबहादुरले तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको हो । तीन महीनामा मूर्ति निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । “तालको बीचमा मूर्ति निर्माण आफैमा ऐतिहासिकता र चुनौती हो”, उहाँले भन्नुभयो, “यस किसिमका प्राचीन र कलात्मक मूर्ति र चित्रले बुद्धकालीन सभ्यताको झल्को मेटाउँछ, चित्रले त्यसबेलाको संस्कृति बोल्छ, मूर्तिको आफैमा विशेष महत्व छ”
बुद्धग्रन्थहरुमा उल्लेख गरिए अनुसार तत्कालिन कोलिय गणराज्यको हलिदाबसन शहरमा बुद्ध आएर नित्य पाठ गरी शिष्यहरुलाई दीक्षित गर्नुभएको ऐतिहासिक तथ्य यसै क्षेत्रमा फेला परेकोे नगर प्रमुख बस्यालले बताउनुभयो । नगरपालिकाले यस क्षेत्रलाई प्राचीन हलिदावसन शहर घोषणाको पनि तयारी गरेको छ ।
परासी—त्रिवेणी हुलाकी सडकबाट आधा किलोमिटर उत्तरतर्फ सुन्दर र रमणीय वातावरणमा अवस्थित यो ताल क्षेत्र करिब सात विघा क्षेत्रफलमा फैलिएको बुद्धमूर्ति निर्माण समितिका सचिव मनोज पौडेलले बताउनुभयो ।
उहाँका अनुसार ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीहरुको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन लगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ । हाल यहाँ जलदेवी मन्दिरको निर्माण कार्य पनि भईरहेको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस