२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लुम्बिनी केन्द्रित विकास नीतिका कारण नवलपरासीका बुद्धस्थल ओझेलमा

२०७८ अषाढ १९, शनिबार प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

परासी, १९ असार । भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई केन्द्रमा राखेर विकास गर्ने नीतिले पश्चिम नवलपरासीका बुद्ध स्थलहरु ओझेलमा परेको सरोकारवालाहरुले बताएका छन् । बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक आज बर्दघाटमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले बुद्धसँग सम्बन्धित स्थलहरुको समान रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहयोगमा नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामाा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाकी उपप्रमुख माया पौडेलले बर्दघाट नगरपालिकाले नगर क्षेत्रमा रहेको बुद्धमंगल तालसहितका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको बताउनुभयो ।
बर्दघाट नगरभित्र बुद्धमंगल तालसहित कन्चनगढी, सीमसार क्षेत्र, संसारकोट लगायतका पर्यटकीय स्थलहरु रहेको र यसको उचित प्रचारप्रसारका लागि नगरपालिका सञ्चारकर्मीसँग होतमालो गर्न तयार रहेको उहाँले बताउनुभयो । उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यमबहादुर कुंवरले नवलपरासी, रुपन्देही र कपिलवस्तुका पर्यटकीय स्थलको विकास र प्रवद्र्धनमा सरकारले चासो दिएको बताउँदै यी क्षेत्रको उजागारका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
सहजकर्ता युवराज कण्डेलले पश्चिम नवलपरासीमा थुप्रै बुद्ध स्थल भएपनि यी स्थलको विकास नभएको बताउनुभयो । स्थानीयवासिन्दाले अपनत्व नलिनु, प्रचारप्रसारको अभाव लगायत कारणले यी क्षेत्र ओझेलमा रहेको उहाँले बताउनुभयो । लुम्बिनी क्षेत्रको विकासमा केन्द्रित हुँदा अन्य बुद्ध स्थल ओझेलमा परेको उहाँको भनाई थियो ।
नेपाल पर्यटन पत्रकार महासघका केन्द्रीय सदस्य मोहन पौडेलले पश्चिम नवलपरासीमा बुद्धको अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपदेखि बुद्धत्व प्राप्तीका लागि प्रस्थान गरेको ठाउँ अनोमाघाट सम्मका बुद्धस्थल रहेको तर लुम्बिनी विकास कोषले उचित ध्यान नदिँदा विकास हुन नसकेको बताउनुभयो । सञ्चार क्षेत्रबाट यी क्षेत्रको उजागारमा आफूहरु निरन्तर लागिरहेको बताउँदै उहाँले संघीय सरकारले उचित बजेट व्यवस्थापन र सञ्चारकर्मीको पनि क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष प्रकाश न्यौपाने, पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष वेनीमाधव बस्याल, जिल्ला अध्यक्ष नारायण भण्डारी तथा सहभागि पत्रकारहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस