२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

ज्ञान केन्द्रद्धारा कृषकको घरआगँनमै पुगेर बाली उपचार शिविर सञ्चालन, ३०० कृषक लाभान्वित

२०८० पौष २५, बुधबार प्रकाशित ( महिना अघि) ५५० पाठक संख्या

मोहन पौडेल
परासी, २५ पुस । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले कृषकको घरआँगनमै पुगेर बाली उपचार शिविर सञ्चालन गरेको छ । घर आँगनमै कृषि प्राविधिक आएर आफूले लगाएको कृषि बालीमा देखिएको समस्या र समाधानको उपाय समेत जानकारी पाएपछि स्थानीय कृषक खुशी भएका छन् ।
कृषि ज्ञान केन्द्रले तरकारी पकेट क्षेत्रको रुपमा चिनिएको रामग्राम–१७ स्थित पिपरहियामा आज बाली उपचार शिविर सञ्चालन गरेको हो । शिविरबाट स्थानीय तीन सय कृषक लाभान्वित भएको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत समिर बराई मगरले जानकारी दिनुभयो । शिविरमा बाली विशेषज्ञ एवं कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवको नेतृत्वमा बालीको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।
कृषकले लगाएको तरकारी, गहुँ लगायतका बालीमा विभिन्न रोग तथा किराको प्रकोप देखिएपछि ज्ञान केन्द्रले शिविर सञ्चालन गरेको हो । परीक्षणको क्रममा स्थानीय कृषकले लगाएको काउली, टमाटर लगायतमा डडुवा रोग देखिएको अधिकृत मगरले जानकारी दिनुभयो । कृषकको बालीमा देखिएको रोग तथा किरा नियन्त्रणका लागि विषादी समेत वितरण गरिएको थियो भने बाली जोगाउने अन्य उपचार पद्धतिबारे पनि जानकारी गराईएको थियो ।

Bali2

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त वडाका वडा अध्यक्ष कन्हैया मौर्यले आफूहरुको घर आगँनमै आएर बालीको उपचार सेवा दिएकोमा कृषि ज्ञान केन्द्रलाई धन्यवाद व्यक्त गर्नुभयो । यहाँका अधिकांश किसान तरकारी खेतीमा आवद्ध रहेकोले कृषकले भोग्नुपरेको समस्या समाधानमा यो शिविरले महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई थियो ।
कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौवेले यो वर्ष तीन स्थानमा बाली उपचार शिविर सञ्चालन गर्ने गरि योजना बनाईएको बताउनुभयो । बालीमा देखिएको रोगको पहिचान गरि समयमै जोगाउने प्रयास गरेमा सम्भावित क्षति कम हुने भन्दै प्रमुख चौबेले शिविरबाट प्रर्याप्त लाभ लिन जोड दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस