२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा रक्तसञ्चार सेवाको क्षमता विस्तार र दिगोपनामा सहयोग गर्ने स्थानीय तहको प्रतिबद्धता

२०८० पौष ९, सोमबार प्रकाशित ( महिना अघि) ३८६ पाठक संख्या

मोहन पौडेल
परासी, ९ पुस । पश्चिम नवलपरासीमा सञ्चालित रक्तसञ्चार सेवाको क्षमता विस्तार र दिगोपनाका लागि स्थानीय तहका जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लाका सातै पालिकाका प्रतिनिधिहरुले जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जिल्लावासीलाई निःशुल्क रगत सहज रुपमा उपलब्ध गराउनका लागि स्थानीय तहले प्रत्येक वर्ष बजेट,नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रक्तदानलाई अभियानको रुपमा चलाउनुपर्ने र रक्तदानको महत्वको विषयमा सचेतना जगाउन पनि आवश्यक रहेको बताउँदै जिसस प्रमुख यादवले मासिक रुपमा हुने स्थानीय तहसँगको बैठकमा छलफलको विषय बनाउने उहाँले बताउनुभयो ।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले नगरवासीलाई रेडक्रस मार्फत निःशुल्क रगत उपलब्ध गराउन बर्दघाट नगरपालिकाले नियमित रुपमा वार्षिक दुई लाखका दरले विनियोजन गर्दै आएकोमा आगामी वर्षदेखि बढाएर वार्षिक तीन लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरवासीलाई आवश्यक परेको अवस्थामा रगत उपलब्ध गराउने कार्यमा सहजीकरण गर्न तयार रहेको बताउँदै सबैको सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि रक्तसञ्चार सेवालाई प्रभावकारी, क्षमता विस्तार तथा दिगोपनाका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुस्ता गाउँपालिकाले पनि वार्षिक रुपमै निःशुल्क रगत उपलब्ध गराउनका लागि बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले आआफ्नो पालिकाबासीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउनका लागि नियमित रुपमा पालिकाले बजेट विनियोजन गरि दिगो रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै जिल्लाको राजमार्ग आसपासमा नियमित रपमा रक्तदानका कार्यक्रम हुने गरेको तर दक्षिणी क्षेत्रमा अझै पनि सचेतनाको अभावले रक्तदानको कार्यक्रम नहुने कारणले रगत उपलब्ध गराउन कठिनाई हुने गरेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रक्तसञ्चार सेवाका संयोजक सुरज केसीले जिल्लामा वार्षिक रुपमा दुई हजार प्रिन्ट रगत संकलन हुने गरेको र करिब एक हजार एक सय बिरामी तथा घाईते लाभान्वित हुने गरेको बताउनुभयो । रगत अभावकै कारण कसैको पनि अकालमा ज्यान जान नपरोस् भनेर रेडक्रसले जिल्लाका सबै पालिकासँग सहकार्य गरेर निःशुल्क रगत उपलब्ध गराउन पहल गर्दै आएको बताउनुभयो । उहाँले रगत स्टक राख्ने फ्रिजको क्षमता विस्तार तथा रातो सेतो रगत छुट्टयाउने मेसिन समेत तत्काल व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस