२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीमा यौनिक तथा अल्पसंख्यक समुदायको गाईजात्रा – समान अधिकार र अवसरको माग

२०७८ भाद्र ७, सोमबार प्रकाशित ( साल अघि) ९८२ पाठक संख्या

मोहन पौडेल
परासी, ७ भदौ । सांस्कृतिक एवं परम्परागत रुपमा मनाईने गाईजात्रा पश्चिम नवलपरासीका तेस्रो लिङ्गी÷समलिङ्गीहरुले भने आज फरक तरिकाले मनाएका छन् । यौनिक तथा लैङ्गीक अल्पसंख्य समुदायले आज गाईजात्राको अवसर पारेर १८ औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा समारोह कार्यक्रमको आयोजना गरी पुरुष र महिला सरह समान अधिकार र अवसर मागेका हुन् ।
उनीहरुले लिंगको आधारमा हुने विभेद अन्त्य हुनुपर्ने माग पनि गरे । राज्य र समाजले आफूहरुमाथि हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको निल हिरा समाज नवलपरासीका पूर्व अध्यक्ष अस्मिता  रानाले बताउनुभयो ।
संविधानले सामाजिक न्यायको व्यवस्था गरेपनि राज्यका निकायबाट आफ्नो समुदायले अधिकार पाउन अझै कठिन छ भने तीनै तहका सरकारबाट यो समुदायका लागि लक्षित कार्यक्रम पनि नहुने गरेको उहाँले गुनासो गर्नुभयो । जसले गर्दा अझै पनि आफ्नो समुदायले भेदभाव र लाञ्छना भोग्नुपरेको उहाँले बताउनुभयो ।
गाईजात्रामा आफ्नै अधिकारका कुरा गर्ने र तेस्रोलिङ्गी भनेर नखुलेका साथीहरुलाई खुलेर समाजमा स्थापित हुन आग्रह गर्ने गरेको शसक्तीकरण नेपालकी कार्यक्रम संयोजक पुष्पा लामाले बताउनुभयो । तेस्रो लिङ्गी समुदायहरुले निल हिरा समाजको स्थापना गरी नेपालमा गाईजात्रा मनाउन थालेको सन् २००१ देखि हो ।
यौनिक तथा अल्पसंख्यक समुदायको हरेक क्षेत्रमा सक्रिय सहभागिताको सुनिश्चिता हुनुपर्ने, जीविकोपार्जन, रोजगारीको व्यवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, क्षमता अभिवृद्धि, नागरिकताको व्यवस्था जस्ता विषय राज्य पक्षबाट सुनिश्चित हुनुपर्ने आफुहरुले आवाज उठाउँदै आएको लामाले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरले यौनिक तथा अल्पसंख्यक समुदायको क्षमता अभिबृद्धि, जीविकोपार्जनमा सहयोग र समान अधिकारका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । थोरै भएपनि नगरपालिकाले यो समुदायका लागि लक्षित गरी बजेट विनियोजन गरेको उहाँको भनाई थियो ।
यस समुदायका अधिकांश मागहरु संघीय सरकारले समाधान गर्नुपर्ने भएकोले संंघीय सरकारले यस विषयमा ध्यान दिनुपर्ने र तेस्रो लिंगी समुदायले पनि एकजुट भएर अधिकार माग्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले सबै नागरिक समान भएकोले कसैले पनि लिंगको आधारमा भेदभाव गर्न नहुने बताउनुभयो । यस समुदायको स्वास्थ्य सम्बन्धि समस्याको समाधानका लागि आफ्नो कार्यालयले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।
उक्त अवसरमा अधिवक्ता सरस्वती शर्मा, ईन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली, नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन पौडेल, आस्था समूहका संयोजक चेतनारायण भण्डारी,सुमन राना लगायतले पनि आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । पहिचान र आत्मसम्मानका लागि संसारभर संघर्ष गरिरहेका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई नेपालको संविधान २०७२ ले प्रतिष्ठापूर्वक सम्बोधन गरेको छ । संविधानको धारा १२ मा प्रत्येक नागरिकले लैंगिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था गरिएको छ ।
संविधानको धारा १८ को समानताको हकमा लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै आधारमा विभेद गर्नु हुँदैन भनिएको छ भने धारा ४२ को सामाजिक न्यायको हकमा यौनिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समावेशी सिद्धान्तअनुसार राज्यका हरेक नीति निर्माण तहमा प्रतिनिधित्वको हक हुने भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस