

परासी, ११ फागुन । नेकपा एमालेका तर्फबाट पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखनाथ खरेलले नवलपरासी क्षेत्र नं.२ को समग्र विकासका लागि स्पष्ट कार्ययोजना भएको र युवाले खोजेको नयाँ सोच सहितको योग्य युवा उम्मेदावर आफू रहेको बताउनुभएको छ । उहाँले आफूलाई परिवर्तनको संवाहकका रूपमा अघि सार्नुभयो ।
परासी प्रेस क्लवद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खरेलले युवाको चाहना अनुसारको नेतृत्व आवश्यक रहेको बताउँदै आफू नयाँ अनुहार, युवा र यो क्षेत्रको विकासका लागि स्पष्ट योजना भएको योग्य उम्मेदवार रहेको उल्लेख गर्नुभएको हो ।
आफूप्रति जनसमर्थन बढ्दै गएको बताउँदै उहाँले भन्नुभयो –“विकास र एमाले एकअर्काका पर्याय हुन्, त्यसैले यो क्षेत्रको स्पष्ट र व्यवस्थित विकास र सुशासनका लागि मलाई विजयी गराई सेवा गर्ने अवसर दिनहुनेछ भन्ने विश्वास लिएको छु ।”
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै सहकारी र सामुदायिक क्याम्पसको नेतृत्व गरिसकेको अनुभव सुनाउँदै उहाँले आफूमा अहिलेसम्म कुनै दाग नलागेको दाबी गर्नुभयो । “प्रतिस्पर्धी उम्मेदवारहरू टेस्टेड हुनुहुन्छ, म अनटेस्ट भए पनि स्पष्ट योजना र इमानदार प्रतिबद्धता बोकेर आएको छु,” उहाँले भन्नुभयो।
खरेलले महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा महेशपुर–परासी–सुनवल सडकलाई चार लेनमा विस्तार गरी कालिगण्डकी करिडोरसँग जोड्ने योजना सार्वजनिक गर्नुभयो । यसले व्यापार, रोजगारी र क्षेत्रीय अर्थतन्त्रलाई टेवा पुग्ने उहाँको विश्वास छ।
पश्चिम नवलपरासीलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित उहाँले बुद्धस्थलहरु रामग्राम स्तूप, पण्डितपुर, कोलवृक्ष, तरगौली ताललगायत पाल्ही भगवती मन्दिर, बाबा बर्दगोरिया, मामिसबरिया, वैरागनाथ शिवालय, सरावल रजहवा वनवाटिका सहितका स्थलको विकास गर्ने बताउनुभयो । साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग पर्यटन सञ्जाल जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने रणनीति रहेको उहाँको भनाइ छ। होमस्टे, हिल स्टेशन र पदमार्ग निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
विदेश पलायन रोक्न र युवालाई स्वदेशमै अवसर दिन वार्षिक ७०० जनालाई कृषि तथा निजी क्षेत्रसँगको सहकार्यमा स्वरोजगार बनाउने खाका सार्वजनिक गरिएको छ। ”कृषिको उर्वरा भूमिको सही सदुपयोग, उत्पादनको बजारीकरण र भण्डारण व्यवस्थापन हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो । “एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार” अवधारणासमेत अघि सारिएको छ।
परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई १०० शैय्याको बनाउँदै विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । साथै पाल्हीनन्दन अस्पताल स्तरोन्नति, सुनवलमा निर्माणाधीन अस्पताल सम्पन्न गर्ने तथा सरावलमा १५ शैय्याको अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा विस्तार गर्दै क्षेत्रलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य उहाँले प्रस्तुत गर्नुभयो । लुम्बिनी चिनी कारखानालाई व्यवस्थापन गरी मेडिकल कलेज वा विश्वविद्यालय स्थापना गर्ने सम्भावनासमेत औँल्याउनुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो स्पष्ट वाचा भएको उल्लेख गर्दै खरेलले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा पहल गर्ने बताउनुभयो । उद्योग व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि ठोस योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।