

परासी, ९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी हुने दाबी गर्नुभएको छ। परासी प्रेस क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले कांग्रेसप्रति जनताको आशा र भरोसा उल्लेखनीय रूपमा बढेको बताउनुभयो।
क्षेत्र नं. १ मा विनोद चौधरी र क्षेत्र नं. २ मा भरत थापा अनुभवी र सक्षम उम्मेदवार भएकाले जित सुनिश्चित रहेको बताउँदै उहाँले भन्नुभयो“जनताले स्थायित्व र अनुभवी नेतृत्व खोजिरहेका छन्, त्यसको विकल्प कांग्रेस हो।”
पाठकले वर्तमान अवस्थालाई संकेत गर्दै पार्टी सभापति गगन थापाको नेतृत्वलाई परिवर्तनको नयाँ अध्यायको रूपमा व्याख्या गर्नुभयो। “अहिलेको कांग्रेस सबैभन्दा नयाँ ऊर्जा बोकेको पार्टी हो,यो नेतृत्व परिवर्तन विद्रोहको परिणाम हो,” उहाँको भनाइ थियो। कांग्रेसको सरकार नबने लोकतन्त्र स्थायित्वमा नपुग्ने दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बने क्रमिक सुधार र रूपान्तरणको अभियान अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले सार्वजनिक भइसकेको दश बुँदे प्रतिज्ञापत्र कार्यान्वयनमुखी रहेको बताउँदै विशेषगरी जेनजी पुस्ताका रोजगारी, सुशासन र सामाजिक सञ्जालको फुकुवाजस्ता मागलाई सम्बोधन गरिने उल्लेख गर्नुभयो। जेनजीको भावना दुरुपयोग गरेर देशका धरोहर र नेताहरूको घरमा आक्रमण गराइएको आरोप पनि उहाँले लगाउनुभयो।
देशमा देखिएको राजनीतिक तरलतालाई मूलधारमा ल्याउन कांग्रेसकै नेतृत्व आवश्यक रहेको जिकिर गर्दै पाठकले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। “पार्टीभित्रको तानाशाही, नातावाद र कृपावाद हटाइसकेका छौँ,अब पार्टी बदलिएपछि देश बदल्ने जिम्मेवारी हाम्रो हो,” उहाँले भन्नुभयो।