

परासी, ६ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट नवलपरासी–२ का उम्मेदवार लेखनाथ खरेलले घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ ।
अभियानका क्रममा बुधबार सुनवल नगरपालिकाका वडा नं. ९ का विभिन्न बस्ती तथा टोलमा पुग्दा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको खरेलले प्रतिक्रिया दिनुभयो ।
घरदैलोका क्रममा स्थानीयवासीले विकास, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्याहरू राख्दै समाधानको अपेक्षा गरेका थिए । त्यसप्रति प्रतिबद्धता जनाउँदै खरेलले आफू निर्वाचित भए जनताका आवाज र समस्यालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले देशलाई अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने शक्तिहरूबाट सावधान रहन मतदातालाई आग्रह गर्दै समृद्धि र स्थायित्वका लागि एमाले नै सक्षम शक्ति भएको दाबी गर्नुभयो । “देश जलाउने होइन, देश बनाउने पार्टी एमाले हो,” उहाँले भन्नुभयो, “जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने हाम्रो स्पष्ट योजना छ ।”
खरेलले नवलपरासी–२ लाई कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासको केन्द्रका रूपमा अघि बढाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन गर्नु नै अभियानको मुख्य उद्देश्य भएको उहाँको भनाइ छ ।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।
बुधबार नै सुनवल-५ वनकट्टीमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरिएको तथा सुनवल-६ मा टोल भेला सम्पन्न गरिएको एमालेले जनाएको छ । चुनाव नजिकिँदै जाँदा क्षेत्रमा चुनावी माहोल थप तातिएको छ ।


