२०८२ फागुन ६, बुधबार
24 खबर अपडेट

पर्यटनबाट हजारौँ रोजगारी सम्भव : भरत थापा

२०८२ फागुन ६, बुधबार प्रकाशित ( घण्टा अघि) ६४ पाठक संख्या

परासी, ६ फागुन । प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार तीव्र भइरहेका बेला नेपाली कांग्रेसका उम्मेदवार भीम बहादुर थापा (भरत) ले नवलपरासीलाई प्रमुख पर्यटकीय हब बनाउन सकिने बताउनुभएको छ ।  पर्यटन विकासमार्फत जिल्लामै हजारौँ रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्र मजबुत बन्ने उहाँको दाबी छ।
सुनवल नगरपालिका–१२ भुमहीमा आयोजित मतदाता भेटघाटका क्रममा पत्रकारसँग कुरा गर्दै थापाले नवलपरासीमा धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै भन्नुभयो- “पर्यटन विकास भए जिल्लाको आर्थिक स्तर उकासिन्छ, युवाले आफ्नै ठाउँमा रोजगारी पाउँछन् र जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हासिल गर्छ।”
नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार थापाले देशको कमजोर अर्थतन्त्र सुधार्न पर्यटन प्रमुख आधार बन्न सक्ने बताउनुभयो। पर्यटनले आय आर्जन, लगानी वृद्धि र रोजगारी सिर्जना एकै साथ गर्ने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ।
आफू सुनवल नगरपालिकाको मेयर रहँदा निर्माण गरिएको हिलपार्क सफल परियोजना भएको उल्लेख गर्दै उहाँले अहिले त्यहाँ मासिक रूपमा आन्तरिक तथा बाह्य गरी हजारौँ पर्यटक आउने बताउनुभयो। उक्त परियोजनाले स्थानीय रोजगारी, व्यापार र उत्पादनमा सकारात्मक प्रभाव पारेको उहाँको दाबी छ।
थापाले रामग्राम स्तूप, बुद्धको मावली पण्डितपुर, हिलपार्क, महलपोखरी, बाबा बर्दगोरिया, मामी सवरिया, देवदह तरगौली ताल, नन्दन ताल, पाल्ही भगवती मन्दिर लगायतका स्थलहरूलाई व्यवस्थित रूपमा विकास गर्न सके जिल्लालाई ठूलो पर्यटकीय केन्द्र बनाउने सम्भावना रहेको सुनाउनुभयो। साथै त्रिवेणी धाम, अनोमा घाट, मदार बाबा, कञ्चनगढी, संसारकोट र बुद्धमंगल ताल जस्ता क्षेत्रहरूको समेत समग्र विकास आवश्यक रहेको उहाँको भनाइ छ।
पर्यटन पूर्वाधारमा पर्याप्त लगानी र योजनाबद्ध पहल नहुँदा जिल्ला ओझेलमा परेको उल्लेख गर्दै उहाँले आफू निर्वाचित भए मन्त्रालय र संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।
पर्यटन र औद्योगिक विकासलाई एकसाथ अघि बढाउन सके जिल्लामै ठूलो रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनको बजार विस्तार हुने र वैदेशिक रोजगारीको बाध्यता घट्ने उहाँले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस