

रामु भुसाल
बर्दघाट, २१ माघ । पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्।
अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनको आयोजना, नेपाल रेडक्रस सोसाइटी बुटवल शाखा (रुपन्देही) को प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दघाटको समन्वयमा ८१६ औँ विश्वव्यापी रक्तदान अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
बर्दघाट नगरपालिका–४ स्थित बर्दघाट उद्योग वाणिज्य संघको भवनमा सम्पन्न कार्यक्रममा ३१ महिला र ३९ पुरुष गरी कुल ७० जनाले रक्तदान गरेका थिए।
फाउन्डेसनका लुम्बिनी प्रदेश संयोजक बिगम तामाङको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि श्रेष्ठले मानव जीवन बचाउन सहयोग पुर्याउने यस्ता परोपकारी गतिविधि अत्यन्तै प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा फाउन्डेसनसँग संस्थागत सहकार्य गर्दै अघि बढ्न नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बेदबिना तिवारीले वर्तमान समयमा देखिएको रक्त अभाव समाधानमा यस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै अन्य संघ–संस्थाले पनि यसबाट प्रेरणा लिनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका सभापति नारायणप्रसाद अधिकारीले रक्तदानको आवश्यकता, प्रभाव र महत्त्वबारे जानकारी गराउनुभएको थियो।
“आमाको प्रेम सारा संसारमा” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्देश्यबारे अध्यक्ष तामाङले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सदस्य श्रवणकुमार श्रेष्ठले गर्नुभएको थियो।
फाउन्डेसनले सन् २००४ देखि रक्तदान अभियान सञ्चालन गर्दै आएको छ। यस क्रममा काठमाडौं, भक्तपुर, ललितपुर, नेपालगञ्जलगायत विभिन्न स्थानमा रक्तदान कार्यक्रम गर्दै अमूल्य जीवन बचाउने कार्यमा योगदान पुर्याउँदै आएको छ।
साथै भूकम्प, बाढी, कोभिड–१९ महामारीजस्ता राष्ट्रिय विपद्का समयमा राहत तथा पुनर्निर्माणमा समेत संस्था सक्रिय रहँदै आएको फाउन्डेसनका सदस्य आशिष सुनारले जानकारी दिनुभयो।