

मोहन पौडेल
परासी, ७ माघ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले अस्पतालमा आधारित एकद्धारा संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)लाई पीडित महिलाका लागि सुरक्षित र विश्वासिलो केन्द्र बनाउन आग्रह गर्नुभएको छ ।
पश्चिम नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पताल परासीमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को सेवा अवस्था, प्रभावकारिता तथा सुधारका विषयमा मंगलबार स्थलगत अनुगमन गर्दैै अध्यक्ष पराजुलीले ओसिएमसीको सेवा अझ प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन, पूर्वाधार सुदृढीकरण, नियमित समन्वय र पीडितमैत्री वातावरणमा जोड दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “ओसिएमसीमा आउने हिंसा पीडित महिलालाई पहिला मनोसामाजिक परामर्श गर्नुपर्छ,अवस्था हेरेर आवश्यक परेको खण्डमा उद्धार गरेर सुरक्षित आश्रय स्थलमा व्यवस्थापन गर्नुपर्यो,कानूनी रुपमा न्याय दिलाउनुपर्यो,अनुसन्धान र सुरक्षामा ध्यान दिनुपर्यो,न्यायमा पहुँच र क्षतिपूर्तिका लागि सरोकारवालासँग समन्वय गरेर यो सेवालाई पीडितको विश्वासिलो केन्द्र बनाउनुपर्छ ।”
उहाँले लैंगिक हिंसा पीडित महिलाहरु अधिकांश आर्थिक रुपमा कमजोर र पहुँच नपुग्ने अवस्थाका हुने भएकोले सहज रूपमा सेवा लिन सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो । ओसिएमसीको सेवालाई थप प्रभावकारी बनाउन आयोगले आवश्यक सहजीकरण र नीतिगत पहल गर्दै सरकारको ध्यानाकर्षण गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोगकी अध्यक्ष पराजुलीले पृथ्वीचन्द्र अस्पतालको ओसिएमसीमार्फत लैंगिक हिंसा, घरेलु हिंसा तथा विभिन्न प्रकारका पीडितलाई प्रदान गरिँदै आएको सेवा, परामर्श, स्वास्थ्य उपचार, कानुनी सहजीकरण र गोपनीयता व्यवस्थापनबारे जानकारी लिनुभएको थियो।
उक्त केन्द्रबाट गत आर्थिक वर्षमा ३ सय ४८ जना लैंगिक हिंसा पीडितले सेवा लिएको अस्पतालका मेसु डा.प्रकाश ढकालले जानकारी दिनुभयो । यो केन्द्रबाट पीडितका लागि निःशुल्क सेवा प्रदान गर्दै आएपनि ग्रामीण क्षेत्रका सेवाग्राहीसम्म यो सन्देश पुग्न भने नसकेको यथार्थ उहाँले स्विकार गर्नुभयो । सीमित बजेट र जनशक्ति अभावका कारण ओसिएमसीको सेवालाई थप प्रभावकारी बनाउन कठिनाइ रहेको उल्लेख गर्दै डा. ढकालले यसका लागि आवश्यक सहजीकरण गरिदिन आयोगलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी,अस्पताल प्रशासन, ओसिएमसीमा कार्यरत स्वास्थ्यकर्मी, जिल्ला प्रहरी, जिल्ला न्यायधिवक्ता, अल्पकालीन सेवा केन्द्रका प्रतिनिधि तथा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले ओसिएमसीको सेवा विस्तार, चौबीसै घण्टा सेवा सुनिश्चितता, सचेतना अभिवृद्धि तथा स्थानीय तहसँगको समन्वयलाई थप मजबुत बनाउन सुझाव दिएका थिए।
आयोगको अनुगमन तथा छलफलले पृथ्वी चन्द्र अस्पतालमा सञ्चालित ओसिएमसी सेवालाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको ओसिएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।