

परासी,२२ पुस । पश्चिम नवलपरासीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जिल्लामा सेवा प्रवाहलाई सरल, छिटो र छरितो बनाउनेतर्फ आफू केन्द्रित रहेको बताउनुभएको छ ।
उहाँले नागरिकलाई सहज र प्रभावकारी सेवा दिनु नै प्रशासनको पहिलो दायित्व भएको उल्लेख गर्नुभयो।
प्रजिअ नेपालले प्रशासनिक प्रक्रियालाई पारदर्शी बनाउँदै अनावश्यक झन्झट हटाइने, सेवाग्राहीमैत्री वातावरण सिर्जना गरिने र कार्यालयमा आउने नागरिकले समयमै सेवा पाउने व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गर्नुभयो। “नागरिकले दुःख पाउन नपरोस् भन्ने सोचका साथ काम गर्छु,” उहाँले भन्नुभयो, “सेवामा ढिलासुस्ती, अनियमितता र गुनासोलाई शून्यतर्फ लैजाने प्रयास हुनेछ।”
उहाँले जिल्लाको शान्ति–सुरक्षा, सुशासन, विपद् व्यवस्थापन र अन्तरनिकाय समन्वयलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
नवआगन्तुक प्रजिअ नेपालले पश्चिम नवलपरासीलाई सुशासित, सुरक्षित र सेवामैत्री जिल्ला बनाउने लक्ष्यसहित जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।