

परासी,२० पुस । धनुषा जिल्लाको एक मस्जिदमा आगजनी गरी कुरान जलाइएको तथा मुस्लिम समुदायका नागरिकका घरमा लुटपाट गरिएको घटनाप्रति ओल्मा फाउन्डेसन नेपालले कडा निन्दा गरेको छ।
फाउन्डेसनले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना अत्यन्त गम्भीर, अमानवीय, निन्दनीय र योजनाबद्ध साम्प्रदायिक अपराध भएको उल्लेख गरिएको छ। मस्जिदमा आगजनी गर्नु, धार्मिक ग्रन्थ जलाउनु र निर्दोष नागरिकको घरमा तोडफोड तथा लुटपाट गर्नु नेपालको संविधान, कानुनी शासन, धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावमाथि खुला आक्रमण भएको फाउन्डेसनका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा यस्ता घटनाले देशको शान्ति, सहअस्तित्व र राष्ट्रिय एकतालाई गम्भीर खतरा पुर्याउने भन्दै संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक, समानताको सिद्धान्त र मानवअधिकारको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरिएको छ।
फाउन्डेसनले नेपाल सरकारसँग उक्त घटनाको तत्काल, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न, दोषी पहिचान गरी कुनै पनि राजनीतिक वा सामाजिक दबाबबिनै कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति, सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न तथा अल्पसंख्यक समुदायका धार्मिक स्थल र बस्तीको सुरक्षा तत्काल सुदृढ गर्न आग्रह गरिएको छ।
फाउन्डेसनले यस्ता घृणाजन्य, धार्मिक अपमान र साम्प्रदायिक हिंसाका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्न सरकारलाई आह्वान गर्दै, यदि राज्य समयमै प्रभावकारी रूपमा हस्तक्षेप गर्न असफल भए भविष्यमा यस्ता घटनालाई प्रोत्साहन मिल्ने खतरा रहने चेतावनी दिएको छ।
फाउन्डेसनले शान्ति, आपसी सम्मान, धार्मिक सहिष्णुता र न्यायमा विश्वास राख्दै सम्पूर्ण शान्तिप्रिय नागरिक, नागरिक समाज, मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई घटनाविरुद्ध एकजुट भई आवाज उठाउन आह्वान गरेको छ। विज्ञप्तिमा न्याय सुनिश्चित गर्नुपर्ने अन्यथा मौनता स्वयं अपराध बराबर हुने स्पष्ट गरिएको छ।