२०८२ पौष १०, बिहिबार
24 खबर अपडेट

नवलपरासीमा यौनजन्य हिंसाका घटनामा वृद्धि

२०८२ पौष १०, बिहिबार प्रकाशित ( घण्टा अघि) ४३ पाठक संख्या

मोहन पौडेल
परासी, १० पुस । पश्चिम नवलपरासीमा यौनजन्य हिंसाका घटना बढ्दै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको तथ्यांक अनुसार विगत एक वर्षमा सबैभन्दा बढी यौनजन्य हिंसाका घटनाबाट महिला तथा बालिका पीडित बनेका छन् ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा भएका यौनजन्य हिंसाका घटनामा सबैभन्दा धेरै बालिका पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा विगतको तुलनामा यसवर्ष मानवअधिकार उल्लंघनका घटनामा उल्लेख्य वृद्धि भएका छन् ।
एक वर्षको अवधिमा बालिकामाथि जबरजस्ती करणीका २७ वटा घटना भएका छन् । यसैगरी यो अवधिमा महिलामाथि जबरजस्ती करणी सात वटा घटना भएको इन्सेकको तथ्यांकले देखाएको छ । जिल्लामा एक वर्षको अवधिमा आफ्नै परिवारका सदस्यबाट ६ जनाको हत्या भएको छ भने अन्य पक्षबाट चार जनाको हत्या भएको छ ।
जिल्लामा यो अवधिमा जातीय विभेदका समेत दुई वटा घटना भएको इन्सेक जिल्ला प्रतिनिधि पराजुलीले बताउनुभयो । कर्मचारी दुव्र्यवहार सम्बन्धि एउटा तथा एउटा बालविवाह सम्बन्धि घटना भएको तथ्यांकमा उल्लेख छ । यससँगै जेनजी प्रदर्शनको क्रममा जिल्लामा निजी तथा सरकारी संरचनामा ठूलो क्षति पुगेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस