२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाटमा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापना हुँदै

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) ११९६ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार – पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटमा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापनाको तयारी गरिएको छ । अत्याधिक सवारी दुर्घटना हुने यस क्षेत्रमा लामो समयदेखि ट्रमा सेन्टरको माग रहेको थियो ।
यसको स्थापनापछि सवारी दुर्घटनाका कारण मृत्यु हुुनेको सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ । बर्दघाटमा ट्रमा सेन्टर स्थापनाका लागि यसपटक सङ्घीय सरकारले आव २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममै प्राथमिकतामा राखेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
ट्रमा सेन्टर स्थापनाका लागि स्थानीयवासीको माग र नगरपालिकाको पहल रहँदै आएको उहाँले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको दाउन्ने क्षेत्रमा धेरै सवारी दुर्घटना हुने गरेपनि स्थानीय स्तरमा सुविधासम्पन्न अस्पताल नभएकोले दुर्घटनाका गम्भीर घाइेतलाई उपचारका लागि बुटवल वा काठमाडौँसम्म लैजानुपर्ने बाध्यता रहेको छ ।
उपचारका लागि टाढा पठाउनुपर्दा आकस्मिक उपचारको अभावले धेरैको अकालमै ज्यान जाने गरेकोले यस क्षेत्रमा ट्रमा सेन्टरको आवश्यकता महशुस गरी लामो समयदेखि पहल हुँदै आएको नगर प्रमुख बस्यालले बताउनुभयो ।
दुर्घटना वा अन्य कारणबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पुर्याईने घाईतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैनन् । गम्भीर घाईतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पु्र्याउन सके चोटपटकका बिरामीहरु पहिलाकै अवस्थामा फर्किन र काम गर्न सक्ने भएकोले पनि यस क्षेत्रमा ट्रमा सेन्टरको अत्याधिक माग रहेको थियो ।
बर्दघाट—२ स्थित चिसापानीमा आधुनिक सुविधासम्पन्न, उपकरण तथा विशेषज्ञसहितको ट्रमा सेन्टर निर्माण हुने नगर प्रमुख बस्यालले जानकारी दिनुभयो । अहिले काोभिड बिरामीको उपचारका लागि बनाईएको आईसोलेशन सेन्टर भएको स्थानमा नै चिसापानी अस्पताल र ट्रमा सेन्टर सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।
यहाँ ट्रमा सेन्टर स्थापना भएमा पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु तथा यस क्षेत्रका पाँच लाख बढी नागरिक लाभावन्ति हुने अपेक्षा गरिएको छ । ट्रमा सेन्टर स्थापनाका लागि सरकारले आगामी आबमा रु दश करोड बजेट विनियोजन गरेको निवर्तमान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीेले जानकारी दिनुभयो ।
सडक विभाग र ट्राफिक प्रहरीको विगत दश वर्षको तथ्याङ्कको आधारमा दाउन्ने, ढल्के र लम्कीमा अत्याधिक सवारी दुर्घटना भई मानवीय क्षति हुने गरेको देखिएकोले यी तीनै स्थानमा सरकारले ट्रमा सेन्टर बनाउने निर्णय गरेको उहाँले बताउनभुयो ।
दाउन्नेको पनि पश्चिम खण्ड धेरै दुर्घटना हुने क्षेत्र भएकोले बर्दघाटमा ट्रमा सेन्टर आवश्यक देखिएको त्रिपाठीको भनाई छ । यो बहुवर्षीय योजना भएकोले निरन्तर बजेट विनियोजन हुने उहाँले बताउनुभयो ।
ट्रमा सेन्टर दुर्घटना तथा चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेलाई जीवन दिने ठाउँ भएकोले यसको स्थापना यस क्षेत्रका लागि महत्वपूर्ण हुने स्थानीयको विश्वास छ । चिकित्सकका अनुसार रोग र चोटपटक फरक कुरा भएकोले यसको उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%१%

प्रतिक्रिया दिनुहोस