

मोहन पौडेल
परासी, ८ पुस । खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा मंगलबार आयोजित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
वक्ताहरुले सरकारी निकाय, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारीबाटै स्वच्छ र गुणस्तरीइ वस्तु उपभोगको सुनिश्चितता हुने भन्दै नियमित अनुगमन, सचेतना र कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा रुपन्देहीको आयोजनामा तथा उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला समिति नवलपरासीको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। स्थानीय सरकारका प्रतिनिधि, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रम उपभोक्ता सचेतना बढाउन र सुरक्षित खाद्य उपभोगको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वासका साथ आयोजना गरिएको उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बाराकोटीले जानकारी दिनुभयो ।
कार्यक्रममा खाद्य वस्तुको उत्पादन, भण्डारण, बिक्री वितरण तथा उपभोगका क्रममा अपनाउनुपर्ने स्वच्छता र गुणस्तरका मापदण्डबारे जानकारी गराइएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाकी वरिष्ठ खाद्य निरीक्षक सोनिला गौतम, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाही र भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीकी डा.प्रतिमा विष्टले कार्यपत्र प्रस्तुत गर्दै बजारमा देखिने खाद्य वस्तुमा हुने मिसावट, म्याद गुज्रिएका सामग्रीको बिक्री, सरसफाइको अवस्था तथा त्यसले उपभोक्ताको स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराउनुभएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलुवाईको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रिय सचिव सरस्वती शर्मा, मञ्चका संस्थापक जिल्ला अध्यक्ष रामजी ज्ञवाली,प्रदेश सदस्य हुमनाथ आचार्य, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको मञ्चका सदस्य कुस्माकर ढकाल(कृष्ण)ले बताउनुभयो ।
