

परासी, १६ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२,चिसापानीस्थित दिव्यज्योति बहुमुखी क्याम्पसले आफ्नोे ३६औं स्थापना दिवसको अवसर परेर पुस्तकालय भवनको उद्घाटन गरेको छ ।
नवनिर्मित भवनको मंगलबार एक समारोहकाबीच निवर्तमान प्रतिनिधिसभा सदस्य सरिता भुषाल खनालले उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा सम्बोधन गर्दै खनालले श्रम र सीपलाई शिक्षासँग जोडेर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नैतिक शिक्षालाई समेत नजोड्ने हो भने सबैले परिकल्पना गरेको सभ्य समाज निमार्णमा समस्या आउने उल्लेख गर्नुभयो ।
नेतृ खनालले दिव्यज्योतिले देशमा नै टिक्न र बिक्न सक्ने गरी बिद्यार्थीहरु उत्पादन गर्नेदेखि बिद्यार्थीहरुको चाहना अनुसारको शैक्षिक गुणस्तरमा जोड दिएर जिल्ला बाहिर पढ्न जानुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको समेत बताउनुभयो ।

बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरको मात्र नभएर जिल्लामा नै पहिलो र नगरपालिका स्थापना गर्न महत्वपूर्ण सुचाङ्क पुरा गरेको चिसापानी बहुमुखी क्याम्पसले अब राष्ट्रलाई आवश्कता हुने खालको जनशक्ति उत्पादन गर्न सक्ने गरी अघि बढनु पर्ने धारणा राख्नु भएको थियो ।
दिव्यज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले शिक्षा,संस्कार र सृजनशीलताको यात्रामा वर्तमान सञ्चालक समिति निरन्तर अग्रसर भएर लागि परेको बताउनुभयो । अहिले क्याम्पस आफैले केहि आर्थिक स्रोत जुटाउने देखि भौतिक निर्माण र गुणस्तरीय शिक्षामा समेत आत्मनिर्भर हुनेगरी काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले आन्तरिक रुपमा यूजिसी मार्फत र वडा,नगर तथा प्रदेशबाट समेत गरी ५ सय बढि बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न क्याम्पस सफल भएकोले बिद्यार्थीहरुको संख्या बढेको बताउनुभयो ।
उक्त अवसरमा पूर्व अध्यक्ष बृहस्पति अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव कूलदीप आचार्य, क्याम्पस प्राध्यापक संघकी अध्यक्ष शित्तल शर्मा, प्राध्यापक शेषकान्त पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रु ६६ लाखको लागतमा पुस्तकालय भवन निर्माण गरिएको क्याम्पस प्रमुख सागरमणि पाण्डेयले जानकारी दिनुभयो । उक्त क्याम्पसमा हाल एक हजार ६ सय ४७ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।