

परासी, १५ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१८ स्थित प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर क्षेत्रमा भइरहेको उत्खनन् कार्यमा संलग्नहरुलाई नागरिक सम्मान गरिएको छ ।
बुद्धकालिन स्थल पण्डितपुर क्षेत्रमा हाल भइरहेको उत्खनन् कार्यमा पुरातत्व विभागको टोलीसँगै त्रिभुवन विश्व विद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व शास्त्र अध्ययनरत विद्यार्थी एवं प्राध्यापकहरुको पनि सहभागिता रहेको छ ।
संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीले आइतबार उत्खनन्मा संलग्न सबैलाई एक कार्यक्रमका साथ नागरिक सम्मान गरेको हो । नागरिक समाज नवलपरासी र परासी प्रेस क्लवको सहकार्य रहेको उक्त कार्यक्रमकमा पण्डितपुर क्षेत्रको खोज अनुसन्धान तथा उत्खनन् कार्यमा विगत एक दशक भन्दा बढी समयदेखि सहयोगीको रुपमा सक्रिय स्थानीय नारद यादवलाई विशेष सम्मान गरिएको थियो भने उत्खनन् टोलीमा सहभागि त्रिभुवन विश्व विद्यालय,नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग अन्र्तगत एमए दोस्रो सेमेष्टरमा अध्ययनर विद्यार्थी र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्व अध्ययनरत गरी ४० जना विद्यार्थी र प्राध्यापकहरुलाई सम्मान गरिएको संस्कृति सम्पदा संरक्षण महाअभियानका जिल्ला संयोजक अनिल शर्माले बताउनुभयो ।
पण्डितपुरको उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै उहाँहरुलाई सम्मान गरिएको संयोजक शर्माले बताउनुभयो । संस्कृति र सम्पदा संरक्षणमा जनप्रतिनिधिहरु उदासिन देखिएकोले नागरिक स्तरबाट संस्कृति सम्पादाको संरक्षण आवश्यक महशुस गरी महाअभियान शुरु गरिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास सस्कृति तथा पुरातत्व केन्द्रिय विभागका प्रमुख डा.महेश कुमार अचार्यले स्थानीयवासीले पुरातत्व स्थल तथा त्यहाँ प्राप्त प्राचिन बस्तुहरुका साथै परम्परागत राम्रा संस्कृति बचाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नागरिक समाज नवलपरासीका अध्यक्ष बेचु गौड, परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेल, सल्लाहकार टिकाराम गैरे, बञ्जरिया महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभादेवी थारु, नारद यादव, अरुण पाण्डे लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको थियो ।
पण्डितपुर क्षेत्रमा हाल भइरहेको उत्खननमा बुद्धकालिन प्राचीन शहरका भग्नावशेषहरु भेटिन थालेका छन् । भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधारलाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खनन गरिरहेको छ । पुरातत्वविद भास्कर ज्ञवालीको नेतृत्वमा भइरहेको उत्खननको क्रममा बुद्धकालनमा भिक्षु भन्तेहरुले आराम गर्ने भवनको पूर्वाधार देखिएको अनुमान गरिएको छ ।