

परासी, ९ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आजदेखि ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ सुरु गरिएको छ। नगरपालिकामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजनाको आयोजनामा सुरु गरिएको अभियान सचेतनामूलक र्यालीसहित उद्घाटन गरिएको थियो ।
जनप्रतिनिधि, नगरका महिला कर्मचारीहरू, विभिन्न समुदायका अगुवाहरुको सक्रिय सहभागिता रहेको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो । र्यालीपछि नगरपालिकाको सभाहलमा आयोजित अभियान उद्घाटन सत्रमा वक्ताहरूले लैंगिक हिंसा रोकथामका लागि घर–परिवार, विद्यालय र समुदाय सबै तहबाट एकीकृत पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।
नगर उपप्रमुख सम्झना चौधरीले १६ दिने अभियानलाई कार्यक्रममा मात्र सीमित नबनाई जनचेतना, सहकार्य र व्यवहार परिवर्तनतर्फ उन्मुख हुने गरी सफल बनाउन आह्वान गर्नुभयो ।
कार्यक्रममा नगरपालिकामा विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकिकृत सेवा पहुँच परियोजनाका साथै समस्त महिला तथा किशोरीमाथि हुने डिजिटल हिंसा अन्त्य गरौँ विषयमा अभिमुखीकरण गरिनुका साथै आचारसंहिता सामूहिक वाचन गरि शुभारम्भ गरिएको परियोजनाका विज्ञ अनुप खड्काले जानकारी दिनुभयो ।
१६ दिने अभियानमा लैंगिक हिंसा सम्बन्धी कानुनी जानकारी, पीडितले पाउन सक्ने सेवा–सुविधा, महिला तथा बालबालिकाको सुरक्षा, सामाजिक उत्तरदायित्व र समुदायको भूमिकाबार सचेत गराउँदै विद्यालय, महिला समूह, युवा तथा विभिन्न संस्थाहरूको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइने खड्काले बताउनुभयो ।
अभियान अन्र्तगत आचारसंहितासहितको व्यानर वडाहरुमा वितरण गर्ने,हिंसा न्यूनीकरणमा शिक्षकको भूमिका सम्बन्धि अभिमुखीकरण,महिला कर्मचारीका लागि यौन तथा लैंगिक हिंसाका अनुभवबारे अन्तरक्रिया,यूवा समूहमा यूवाहरुले भोग्ने विभिन्न प्रकारका लैंगिक हिंसाबारे अन्तरक्रिया,आमा समूह तथा लक्षित समूहरुसँग अन्तरक्रिया एवं अभिमुखीकरणका कार्यक्रम, विद्यार्थी डिजिटल हिंसाबारे सचेतना लगायतका गतिविधि सञ्चालन गरिने नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख तारा अर्यालले बताउनुभयो । १६ दिने अभियान विश्वव्यापी रूपमा हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइँदै आएको छ।





