२०८२ मंसिर ७, शनिबार
24 खबर अपडेट

रामजानकी मन्दिर उजैनीमा प्राणप्रतिष्ठा तथा महायज्ञ शुरु

२०८२ मंसिर ७, शनिबार प्रकाशित ( घण्टा अघि) ७३ पाठक संख्या

परासी, ६ मंसिर । पश्चिम नवलपरासीको रामग्राम–७ उजैनीस्थित रामग्राम स्तूपा नजिकै पुनः निर्माण गरिएको रामजानकी मन्दिरमा प्राणप्रतिष्ठा एवं रामलिलासहितको नवाह ज्ञानमहायज्ञ शुरु भएको छ ।
शुक्रबार बृहत कलश यात्रासहित महायज्ञको शुभारम्भ गरिएको थियो । स्थानीयवासीको सक्रिय सहभागिता रहेको कलश यात्रा उजैनी, देउरवा, नौडिहवा,चन्द्रागढि लगायतका गाउँ परिक्रममा गरिएको थियो ।
सनातम हिन्दु धर्मको संरक्षण, सामाजिक सुधार, बाल उद्यान निर्माणसहित धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उजैनी क्षेत्रमा वर्षाैँपछि महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका संयोजक ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष रहनुभएका अग्रहरीको व्यक्तिगत रु २५ लाखको लागतमा उक्त मन्दिरको जिर्णोद्धार सम्पन्न भएको थियो । करिब ८० वर्ष पुरानो इतिहास रहेको रामजानकी मन्दिर संरक्षणको अभावमा जिर्ण बनेपछि अध्यक्ष अग्रहरीको पहलमा मन्दिर जीर्णोद्धार गरिएको हो ।
अध्यक्ष अग्रहरीका हजुरबुबा नन्दलाल र बुबा हरिरामको सपना साकार पार्दै करिब एक विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको रामजानकी मन्दिर क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रसँगै पार्क तथा पिकनिक क्षेत्र बनाउने योजना अनुरुप महायज्ञ आयोजना गरिएको बताइएको छ ।
आगामी मंसिर १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको उद्घाटन गर्दै पूर्व रक्षा राज्यमन्त्री रामवचन यादवले धर्मको संरक्षणसँगै यस क्षेत्रको विकास र पहिचानमा समेत महायज्ञले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, प्रमुख वाचक पण्डित अमित शरण शास्त्री, स्थानीय समाजसेवी राधेरमण पाण्डे, निगम यादव, परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
महायज्ञमा दोस्रो दिनबाट धनधान्याञ्चल यज्ञ शुभारम्भ हुनेछ भने तेस्रो दिनबाट तुलादानको कार्यक्रम शुरु हुने प्रमुख वाचक शास्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पाँचौ दिनमा रामजानकीको प्राण प्रतिष्ठा गरिनेछ भने अयोध्याबाट आउने कलाकारले प्रदर्शन गर्ने रामलिलाले थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस