

मोहन पौडेल
परासी, ३ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले लामो प्रतीक्षापछि आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको थालनी गरेको छ । सरावल–३ स्थित सरावल टोलमा बन्न लागेको साढे दुई तले आधुनिक भवनको बुधबार बिधिवत् भूमि पूजन गरी शिलान्यास गरिएको छ।
गाउँपालिका स्थापना भएयता वडा नं. ३ को कार्यालयबाट अस्थायी रुपमा सेवा दिँदै आएको पालिकाले सेवाग्राहीको चाप र सीमित संरचनाका कारण गुणस्तरीय सेवा प्रवाहमा चुनौती भोग्दै आएको थियो। अब भने स्थानीयलाई सहज, सुलभ र छिटोछरितो सेवा उपलब्ध गराउने लक्ष्यसहित आफ्नै भवन निर्माणमा अघि बढेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष बासमति हरिजन तथा प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संयुक्त रूपमा शिलान्यास गरी निर्माणको औपचारिक थालनी गर्नुभएको हो। बहुउद्देश्यीय सभाहलको पश्चिमतर्फ रहेको करिब एक विघा जग्गा पालिकाको नाममा आएपछि भवन निर्माण प्रक्रिया सहज बनेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
आफू निर्वाचित भएदेखि नै पहिलो प्राथमिकता दिएर भवन निर्माणको पहल गरे पनि जग्गा स्पष्ट नहुँदा काम अघि बढ्न नसकेको अध्यक्ष चौधरीको भनाइ छ। यसअघि सो जग्गामा १५ जना स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएका थिए। तर भवनको आवश्यकता बुझेर उनीहरूले सहज रूपमा जग्गा उपलब्ध गराएपछि निर्माणको बाटो खुलेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०८१÷८२ मै ठेक्का प्रक्रिया पूरा भई असार १० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। कूल लागत रु. ८ करोड ३० लाख ६६ हजारको अनुमान भए पनि ठेक्काको जिम्मा पाएको बीएम सार्वजनिक जेभी, नुवाकोटले झण्डै २९ प्रतिशत कम दरमा, अर्थात् रु. ५ करोड ९७ लाख ४२ हजारमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेयले जानकारी दिनुभयो ।
भवन निर्माणमा संघीय शहरी विकास मन्त्रालयको ६० प्रतिशत र सरावल गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ। गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समय—वि.स. २०८४ को पुस—भित्रै निर्माण सम्पन्न गर्न अध्यक्ष चौधरीले निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । नयाँ प्रशासनिक भवन निर्माणसँगै सरावलवासीले दिगो, प्रभावकारी तथा आधुनिक सेवाको अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।