२०८२ मंसिर १, आईतबार
24 खबर अपडेट

महिला शसक्तीकरणमा जेसीजको अग्रणी भूमिका : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

२०८२ मंसिर १, आईतबार प्रकाशित ( घण्टा अघि) ७५ पाठक संख्या

परासी, ३० कात्तिक । राष्ट्रियसभाकी उपाध्यक्ष बिमला घिमिरेले महिला सशक्तीकरणमा जेसीजको अग्रणी महत्वपूर्ण रहेको बताउनुभएको छ । समृद्ध नेपालका लागि महिलाहरुको हरेक क्षेत्रमा समानुपातिक र समावेशी प्रतिनिधित्व आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल जेसीजको आयोजना तथा रामग्राम महिला जेसीजको आतिथ्यमा पश्चिम नवलपरासीको परासीमा आयोजित १८ औँ राष्ट्रिय लेडी एकेडेमीलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले महिला सशक्तीकरण हुँदा मात्र राष्ट्र निर्माणमा टेवा पुग्ने बताउनुभयो ।
महिलालाई अवसरका लागि अग्रसरता दिलाउन जेसीजको भूमिका प्रेरणादायी रहेको बताउँदै उहाँले भन्नुभयो, “महिला शसक्तीकरण हुनु भनेको सिंगो राष्ट्रका लागि योगदान हो,विशेषगरी युवा अवस्थाका महिलाहरुलाई जेसीजले क्षमता अभिवृद्धि, नेतृत्व क्षमताको विकास तथा समानताका लागि योगदान गर्दै राष्ट्र निर्माणमा प्रेरित गर्दै आएको छ ।”
फरक प्रसंगमा उपाध्यक्ष घिमिरेले संविधानको संरक्षण र कानून निर्माणका लागि जति सक्दो छिटो प्रतिनिधिसभा आवश्यक रहेको बताउनुभयो । “हाम्रो संविधानले हामीलाई धेरै अधिकार दिएको छ तर अझै प्रर्याप्त भएको छैन्, हामी संविधान संशोधन गरी महिला अधिकार अझै स्थापित गर्न चाहन्छौँ,त्यसका लागि प्रतिनिधिसभा आवश्यक छ ।”
परिवर्तनका लागि महिलाहरुको आन्दोलन र योगदान कठोरपूर्ण र गौरवपूर्ण रहेको स्मरण गर्दै उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रमा महिलाको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाले समाजमा महिलाको नेतृत्व स्विकार नगर्ने प्रवृत्ति अझै कायम रहेको बताउँदै आँट,संघर्ष र भरोसा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । जेसीजले महिलाको सशक्तीकरण, नेतृत्व विकास तथा पहुँच निर्माणमा योगदान गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला घरमा रोपेको गमलाको फूल नबन्नुहोस् जसलाई मालीको आवश्यकता हुन्छ,तपाई त्यो डाँडाको फूल बन्नुहोस् जो आफै उम्रिन्छ,आफै फर्किन्छ र आफै अगाडि बढ्छ ।”
देशभरका करिब एक सय युवा महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्व मिस नेपाल सुगारिका केसी,नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष एवं अन्र्तराष्ट्रिय उपाध्यक्ष रजनी थापा लगायतका प्रशिक्षकहरुले महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण गर्नुहुने रामग्राम महिला जेसीजकी अध्यक्ष प्रिति अग्रहरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस